
जनकपुरधाम – मिथिलाञ्चलमा साेमबार दाजुभाइ दिदीबहिनी बिचको प्रेमलाई अझै प्रगाढ बनाउने भातृद्वितया पर्व मनाईदैँ छ ।
कार्तिक महिनाको शुक्ल पक्षको द्वितीया तिथिका दिन हिन्दु धमावलम्वीहरुले भातृद्वितया पर्व मनाउने गर्छन् । मिथिलाञ्चलमा यस पर्वका दिन दिदीबहिनीले भाइको निधारमा पिठार (चामललाई पानीसँगै पिँधेर बनाइएको लेदो) र सिंदुरको टीका लगाएर उज्वल भविष्यको कामना गर्ने गर्छिन् ।
भातृद्वितयाका दिन दिदीबहिनीहरुले भाइ आफूभन्दा ठूलो होस् वा कान्छो पूजा गरी निमन्त्रण दिने गर्छिन् । बहिनीहरुले सिन्दुर, पिठार, लगाएर कुभिण्डोको फूल, पानको पात, सुपारी र जल भाईको हत्केलामा राखी ‘गंगा नौतैत छथि यमुना के, हम नौतैत छी (भाई के नाम) भाई के, जहिना जहिना गंगा–यमुनाक धार बहए, हमर भाई सभक औरदा बढ़ए’ अर्थात गंगाले यमुनालाई निमन्त्रण दिइन् मैले आफ्नो भाईलाई भन्दै हात पखाल्छिन् ।
दिदीबहिनीले पूजा गरेपछि भाइले दिदीबहिनीलाई यथाशक्ति उपहार दिन्छन् र उनको घरको अन्न खाए्र बहिनीलाई सन्तुष्टि प्रदान गर्छन् । यो पर्वलाई लिएर एउटा कथा समेत प्रचलित छ । भगवान सूर्य नारायणको पत्नीको नाउँ छाया हो ।
छायाकै गर्भबाट यमराज तथा यमुनाको जन्म भएको थियो । यमुना आफ्नो भाई यमराजलाई अगाध स्नेह गर्थिन् । भनिन्छ यमुनाले पटक पटक आफ्नो भाई यमसँग निवेदन गर्थिन आफ्नो ईष्ट मित्रका साथ घर आउनका लागि । तर आफ्नो कार्यमा व्यस्त यमराजले उनको यो निवेदनलाई टार्दै आउँथे ।
यसै क्रममा कार्तिक शुक्ल पक्षको द्वितिया तिथि आयो । यमुनाले सोही दिन भाई यमराजलाई भोजनका लागि निमन्त्रण दिएर घर आउन वचनवद्ध गरिन् । यमराजले सोचे म सबैको प्राण लिन्छु । मलाई कोही घर बोलाउन चाहँदैनन् । वहिनीले यति स्नेहपूर्वक बोलाई रहेकी छिन् भने, उसको स्नेहको मान राख्नु मेरो धर्म हो ।
यमराजलाई आफ्नो घर आएको देखेर यमुना औँधी खुशी भइन् । यमुना स्नान र पूजा गरी विभिन्न प्रकारको व्यंजन भाइ यमलाई खानका लागि दिइन् । यमुनाद्वारा गरिएको आतिथ्यबाट यमराज प्रसन्न भएर आफ्नो बहिनीलाई वरदान माँग्नलाई भने ।
यमुनाले भाई यमराजलाई प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन् । मजस्तै बहिनीले यो दिनमा आफ्नो भाइलाई आदर सत्कार गरी टीका गर्छिन् भने उसलाई तपाईको भय रहँदैन । यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्के । सोही दिनबाट भातृद्वितिया पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।