काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेताहरुले आज (बुधबार) को सचिवालय बैठक नसार्न चेतावनी दिएका छन्।
उनीहरुले समस्याहरुको पहिचान भएको र अब निकास बैठकबाटै निकाल्न आग्रह गरेका छन्।
नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले आजको बैठक षड्यन्त्रपूर्वक पर नसार्न चेतावनी दिएकी हुन्।
‘समस्याको पहिचान गरिएको छ, संवाद छलफल र विधिबाट निकास निकाल्न बैठक नै अन्तिम र वैध विकल्प हो’, उनले ट्विटरमा लेखेकी छिन्, ‘आजको बैठक षड्यन्त्रपूर्वक पर नसारियोस्।’
उनले बैठक, विधि छोडेर अध्यारो कोठामा स्वार्थ समूहसँग गरेको लेनदेनमा खाएको धोका कम्तीमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गाैतम र वरिष्ठ नेता माधव नेपालले भुल्न नहुने बताएकी छिन्।
उनले एकता जोगाउने हो भने कार्यकर्ता होइन पार्टीका सदस्य बन्नुपर्ने धारणा पनि व्यक्त गरेकी छन् ।
‘पार्टी एकता जोखाउने हो भने पार्टीका सदस्यहरूले बैठकबाट भाग्ने होइन बैठकबाट निकास निकाल्न दवाव दिऔँ। कार्यकर्ता होइन पार्टीका सदस्य बन्ने प्रयास गरौँ’, झाक्रीको आग्रह छ ।