
टिमका साथी खेलाडीलाई दिएको वचन राख्नका लागि आफूले पेनाल्टी प्रहार गरि ह्याट्रिक पूरा गर्ने मौका छोडेको म्यानचेस्टर युनाइटेडका ब्रुनो फेर्नान्डेसले बताएका छन् ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह एच को म्यानचेस्टर युनाइटेडले मंगलबार राति भएको खेलमा स्थानबुल बासाक्सेहिरलाई ४–१ ले पराजित गरेको हो । यो खेलमा ब्रुनोले सात र १९ औँ मिनेटमा गोल गरेका थिए ।
३५ औँ मिनेटमा टिमले पेनाल्टी पायो । ब्रुनोले पेनाल्टी प्रहार गरि म्यानचेस्टर युनाइटेडबाट पहिलो ह्याट्रिक गर्ने अवसर छोडेर पेनाल्टी प्रहार गर्न मार्कस रासफोर्डलाई अवसर दिए । मार्कसले गोल गरे ।
युनाइटेडका लागि इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा ड्यानियल जेम्सले गोल गरे । स्थानबुलका लागि ७५ औँ मिनेटमा तुरुकले एक गोल फर्काए ।
ब्रुनोले यसअघि प्रिमिर लिगको खेलमा पेनाल्टी मार्फत गोल गरेपछि अबको अवसरमा मार्कसले पेनाल्टी प्रहार गर्ने भनि वचन दिएका थिए । सोही वाचा पूरा गर्न उनले ह्याट्रिक गर्ने मौका छोडेका हुन् ।
उनले भने, ‘पक्कै पनि सबै खेलाडी ह्याट्रिक गर्न चाहन्छन् । तर मैले वाचा गरेको थिएँ र उ च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता मध्ये एक पनि हो, सोही कारण उसले पनि आत्मविश्वास बढाउने अवसर पाउनु पर्छ ।’
टिमका लागि गोल हुँदासम्म कसले पेनाल्टी प्रहार गर्छ भन्ने कुराले खासै महत्व नराख्ने ब्रुनोले बताएका छन् ।
जितपछि समूह चरणका दुई खेल बाँकी हुँदा म्यानचेस्टर युनाइटेड ९ अंकसहित शीर्ष स्थानमा छ ।