
मोरङ– विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।
कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार मोरङको धनपालथान गाउँपालिकाकी ७० वर्षीया बृद्धाको बुधबार बिहान ८ बजे मृत्यु भएको हो। बस्नेतका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि बृद्धालाई कार्तिक २६ गते उपचार केन्द्रमा भर्ना गरिएको थियो।
त्यसैगरि नोबेल शिक्षण अस्पतालमा बुधबार ७ बजे धनकुटाका ८२ वर्षीय बृद्धको उपचारका क्रममा मृत्यु भएको छ। अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार वृद्धलाई कोरोना संक्रमण पुष्टि भएपछि मंसिर ८ गते स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
यससँगै गएको २४ घण्टामा नोबेलमा तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। गएराति सुनसरी धरान उपमहानगरपालिकाकी ५० वर्षीया महिला र रामधुनी नगरपालिकाका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।