
मोरङ– कोभिड १९ महामारीसँगै लामो समयको लकडाउनबाट आजित सर्वसाधारणको चहलपहल विस्तारै पर्यटकीय क्षेत्रमा बढ्न थालको छ।
यतिबेला बिहानीपख झुल्के घाम हेर्नका लागि पर्यटकहरुको इलामस्थित श्रीअन्तु डाँडामा घुइँचो लाग्ने गरेको छ। इलामको सुर्योदय नगरपालिकास्थित मनोरम झुल्के घाम हेर्नका लागि मुख्यतः झापा, सुनसरी, मोरङ, इलाम, काँकडभिट्टा, काठमाडौँ र आसपासका क्षेत्रबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन्।श्रीअन्तुमा विगत ४ वर्षदेखि होटल व्यवसाय गर्दै आएका झापाका ज्ञानु काफ्लेका अनुसार असोजबाट श्रीअन्तुमा बिहानी झुल्के घाम हेर्नका लागि आन्तरिक पर्यटकहरुको भीड बाक्लिदै गएको छ।
विशेषगरी शुक्रबार र शनिबारको दिन अत्याधिक भीड हुने गरेको बताएका काफ्लेका अनुसार शुक्रबार र शनिबार दैनिक करिब ३ हजारदेखि ३ हजार ५ सय जनासम्म अन्तुको टावर क्षेत्रमा दृष्यावलोकनका लागि पुग्ने गरेका छन्।
पर्यटकीय क्षेत्रका रुपमा स्थापित हुँदै गएको श्रीअन्तुका होटल, रिसोर्ट तथा होमस्टे लगायतमा पर्यटकहरु राति १० बजे नाचगानमा रमाउने गर्दछन्।
केहीसमय अघिसम्म बिहानको २ बजेसम्म चल्ने गरेको नाचगानामा पछिल्लो समय भने प्रशासनले राति १० बजेसम्मको समयसीमा तोकेको छ।
चिसो सिरेटो, शीतको थोपासँगै क्याम्प फायर, संगीतको धुन र नाचगानाले मौसम नै रमाइलो बनाउने गरेको अनुभव काठमाडौँ गुर्जुधाराका सत्यनारायण श्रेष्ठको छ।
काम विशेषले झापासम्म साथीसँग पुगेका श्रेष्ठले एकदिनको समय लम्ब्याएर उदाउँदो सूर्योदय हेर्न अन्तु पुगे बताए।
‘धेरै नाम सुनेको थिएँ, आज समय र मौसमले साथ दियो। एकक्षण देखिएको उदाउदो सूर्य, चिसो रातमा क्याम्प फायर, चियाको बुट्यान, हरियो डाँडा अनि पोखरीको दृष्यले केहीदिनको थकान मेटाइदिएको छ। यस्ता स्थानको संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक छ’, उनले भने।
झापा विर्तामोडबाट शुक्रबार रमाइलो गर्न साथीहरुसँग पुगेका २८ वर्षीय उज्वल गिरीका अनुसार आफ्नै स्थानको प्रवर्द्धन गर्नका लागि आन्तरिक पर्यटकको आगमन राम्रो कुरा भएको बताँउछन्।
यद्यपि कतिपय अवस्थामा होटलसँग समन्वय नगरी पयर्टक आउँदा सम्हाल्न गाह्रो हुने गरेको ३८ वर्षीय होटल व्यवसायी काफ्ले बताँउछन्। साथै उनका अनुसार ताल अन्तुमा खानेपानी, विद्युत लगायतको समस्या रहेको छ।
पूर्व जानकारी बिना होटल पुगेका पर्यटकहरुलाई कोठा उपलब्ध गराउन नसक्दा खाली फर्काउन परेको उनको भनाइ छ।
हाल श्रीअन्तुमा ६३ वटा होमस्टे, १४ वटा कटेज, १० वटा होटल सञ्चालनमा रहेका छन्। अधिकांश युवा युवती सामाजिक सञ्जालमा उदाउँदो सुर्यदेखि त्यहाँको मनोरम दृष्य राख्नका लागि बिहानैबाट व्यस्त हुने गरेका छन्।
यससँगै हाल नगरपालिकाले भ्यू टावर क्षेत्रमा पिकनिकका लागि पाँच सय, बालबालिका लागि २० रुपैयाँ, नेपाली नागरिकका लागि ५० रुपैयाँ र अन्य मुलुकका नागरिकलाई एकसय रुपैयाँ प्रवेश शुल्क तोकेको छ।
दृष्यावलोकनका लागि पर्यटकहरु बिहानको ३ बजेबाटै टावर पुग्ने गरेका छन्। यसक्रममा निजी सवारी, मोटरसाइकल सडकमा लामबद्ध हुने गरेको छ।