
धनगढी- कैलाली भन्सार कार्यालयबाट चिनीको आयात अस्वाभाविक रुपमा बढेको छ। फागुन मसान्तसम्म चार हजार ९ सय ६३ केजी चिनी आयात भएकोमा चैतको अन्तिम साता १ लाख ५० हजार केजी चिनी कैलाली भन्सार कार्यालयमा आएको छ।
स्थानीय बासिन्दा र सरकारले सीमा नाकामा कडाइ गर्दा भन्सार भएर आउने चिनीको परिणाम बढेको भन्सार स्रोतको दाबी छ। भारतीय सीमासँग जोडिएको धनगढी उप-महानगरपालिका २ का स्थानीय बासिन्दाले तस्करी नियन्त्रण समुह गठन गर्दै गस्ती गर्न थाले पछि चिनीको आयात ह्वातै बढेको हो।
गत आर्थिक वर्षको फागुन मसान्त सम्ममा पनि १३ हजार ७ सय ६० केजी मात्र चिनी आयात भएको थियो। स्थानीयले २ साता अगाडीदेखि सिमा नाकामा गस्ती सुरु गरेका थिए।
भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरीले पनि गस्तीमा कडाई गर्दा चिनी प्रकाउ गर्ने क्रम बढेको थियो। व्यवसायीले भने गस्तीमा कडाई हुन् थाले पछि चिनी आयात गरेको आरोप अस्विकार गर्छन्। उनिहरुले नेपालमा भन्दा भारतमा चिनीको मूल्य कम भएकाले सस्तोमा बिक्रि गर्न चिनी आयात गरेको दाबी गरेका छन्।
तर स्थानीयहरुले भने केहि दिनदेखि तस्करी कम भएकाले भन्सार तिर्दै चिनी ल्याउन खोज्ने बढेको हुन् सक्ने बताए।
कैलाली भन्सारमा पनि चिनीको समस्या, ४ दिने देखि रोकियो भन्सारमा चिनी
नेपाली चिनी उद्योगीको दवावमा भारतबाट ल्याईएको चिनी कैलाली भन्सार कार्यालयमा ४ दिनदेखि रोकिएको छ।
७ नम्बर प्रदेशमा चिनी उद्योगले सन्धर्भ मूल्य सुची ( रिफरेन्स मूल्य) भन्दा कम मूल्यमा भन्सार पास नगर्न दवाव दिएकाले कैलाली भन्सार कार्यालयमा चिनी रोकिएको हो।
भन्सार विभागले चिनीको रिफरेन्स मूल्य प्रति केजी भारु ३० रुपैयाँ तोकेको छ। अर्थमन्त्री युवराज खतिवडाले पनि रिफरेन्स मूल्य भन्दा कममा भन्सार क्लियर नगर्न निर्देशन दिएका थिए।
यस्तै चिनी उद्योगीले पनि आन्तरिक उद्योग धरासायी हुने भन्दै रिफरेन्स मूल्य कार्यान्वयनका लागि दवाव दिँदा कानुनी प्रकृया पुरा गर्दा पनि व्यापारीले चिनी आयात गर्न नपाएका हुन्।
चिनी आयातकर्ता ठाकुर ट्रेक लिंकका हरिशंकर ठाकुरले भारतबाट प्रति केजी भारु २७ रुपैयाँ ५० पैसामा चिनी ल्याएपनि भन्सारले प्रति केजी भारु ३० रुपैयाँ भन्दा कम मूल्यमा भन्सार मूल्यांकन नगर्ने भनेको बताए।
ठाकुर ट्रेक लिंकले १ लाख केजी, बजरङ ट्रेक लिंकले ५० हजार केजी चिनी कैलाली भन्सार कार्यालयका थन्किएको हो। चिनी ल्याएका गाडीहरु चार दिनदेखि कैलाली भन्सार कार्यालयमा रोकिएका छन्।
चिनीमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गर्छ। सरकारले तोकेको भारु ३० रुपैयाँमा कर तिर्दा चिनी १.१२ रुपैयाँ महँगो हुन्छ।
२७ रुपैयाँ ५० पैसामा भन्सार महसुल र मूल्य अभिबृद्धि कर जोड्दा चिनिको मुल्य ५६ नेपाली रुपैयाँ हुन्छ। त्यसमा १० प्रतिशत नाफा जोडेर करिब ६२ रुपैयाँमा चिनी बिक्रि गर्ने चिनी आयातकर्ताको भनाई छ। हाल बजारमा चिनिको मुल्य ८० देखि ८५ रुपैयाँ छ ।
नेपालका चिनी उद्योगले उत्पादन गर्ने चिनीको उद्योग मूल्य करिब ७० रुपैयाँ हुने चिनी उद्योगीको भनाइ छ।
उखु खरिद, बैंक ब्याज, बिद्युत लगायतमा भारतका उद्योगले सहुलियत पाउँदा उनीहरुको लागत कम हुने नेपाली चिनी उद्योगी बताउँछन्। भारतबाट सस्तो मूल्यमा चिनी बजारमा आए स्वदेशी चिनी उद्योग धरासायी हुने उनीहरुको तर्क छ।
चिनी आयातकर्ता, राज्यलाई कर तिरेर सस्तो मूल्यमा चिनी बिक्री गर्न खोज्दा पनि सरकारले रोकेको बताउँछन्। भन्सार कार्यालयले भारु ३० रुपैयाँ भन्दा कममा भन्सार क्लियर गर्न नसकिने बताएको छ ।
भन्सार विभागले चिनी प्रति केजी भारु ३० रुपैयाँ भन्दा कममा नछोड्न भनेकाले आफुहरुले केहि गर्न नसक्ने कैलाली भन्सार कार्यालय श्रोतले जानकारी दिएको छ।