
नेपालगञ्ज– बाँकेमा सुरक्षा गोष्ठी सुरु भएको छ। सबै जिल्लाका सुरक्षा प्रमुखलाई राखेर प्रदेशस्तरीय गोष्ठी गर्ने गरिएकोमा कोभिडपछि जिल्लागत सुरक्षा गोष्ठी सुरु गरिएको छ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीको उपस्थितिमा शुक्रबार सुरक्षा गोष्ठी भएको हो।
गोष्ठीको उद्घाटन गर्दै मन्त्री केसीले प्रदेशस्तरीय गोष्ठी गर्दा जिल्लाका प्रमुख व्यक्तिहरुको सहभागिता हुने भएकाले जिल्लामा गर्दा युनिट प्रमुखहरुको समेत समस्या बुझ्न पाइने बताए।
उनले जिल्लामा कोभिडको पछिल्लो अवस्थाका साथसाथै सुरक्षाको अवस्था, सबै सुरक्षा युनिटहरुको अवस्था, भौतिक संरचनाको अवस्था, विकास, अपराध, सीमाको अवस्था तथा अन्य समस्याहरुको निकास निकाल्न जिल्लामै युनिट प्रमुखहरु समेतलाई राखेर सुरक्षा गोष्ठी आयोजना गरिएको बताए।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सीमा अपराधदेखि जिल्लाको समग्र सुरक्षास्थितिका बारेमा ब्रिफिङ हुने बताए।
गोष्ठीमा सेनाका कर्णेल नकुल थापा, नेपाल प्रहरीका एसपी ओमबहादुर राना, सशस्त्र प्रहरीका एसपी अशोक बम, अनुसन्धानका एसपी नरेन्द्र गिरी, सुरक्षा अंगहरुको युनिट प्रमुखहरुको उपस्थिति रहेको छ।