
जनकपुरधाम– विवाह पञ्चमीको दोस्रो दिन फूलबारी लीला सम्पन्न भएको छ। सीताराम विवाह महोत्सवको दोस्रो दिन आज जानकी मन्दिरको प्राङ्गणमा लगाइएको पण्डालमा फूलबारी लीला मनाइएको छ।
कोरोना महामारीको कारण स्थानीय प्रशासनले भिडभाड नगर्न निर्देशन दिएकोले विधिको लागि मात्रै यस वर्ष विवाह पञ्चमी मनाइरहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताएका थिए।
सोही अनुसार यस वर्ष पण्डालमै फूलबारी लीला मनाइएको छ। अन्य वर्ष भने जानकी मन्दिरको छेउमा रहेको विवाह मण्डपको फूलबारीमा यो विधि मनाइने गरिएको थियो।
राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला भनिन्छ। सीता र रामको पहिलो भेट यहीँ भएको मानिन्छ। राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलबारी लीला कार्यक्रम गर्ने प्रचलन रहेको छ।
यसभन्दा पहिले विवाहपञ्चमीको पहिलो दिन पनि जनकपुर नगरदर्शन पण्डालमै मनाइएको थियो भने भोलि बुधबार जानकी मन्दिरकै पण्डालमा धनुष यज्ञ मनाइने जानकी मन्दिरले जनाएको छ।
राममन्दिर स्थित बिहीबार तिलकोत्सव मनाइने छ, जहाँ जानकी मन्दिरका महन्थ देवी जानकीको बुवा र राम मन्दिरका महन्थ भगवान् रामको बुवाको रुपमा अंकमाल गर्नेछन्। जसलाई सम्धी मिलन भनिन्छ।
त्यस्तै शुक्रबार गंगासागर पोखरीमा मटकोर मनाइने छ भने शनिबार स्वयमवर तथा शुभ विवाह आ आइतबार रामकलेवा गरी विवाह पञ्चमीको कार्यक्रमलाई समापन गरिन्छ।