न्युरोडको ‘अम्ब्रेला स्ट्रिट’ मा भिड थेग्नै गाह्रो

न्युरोडको ‘अम्ब्रेला स्ट्रिट’ मा भिड थेग्नै गाह्रो
+
-

काठमाडौँ – कहिलेकाहिँ परिस्थिति सोचेभन्दा भिन्न भइदिन्छ।

झण्डै एक साताअगाडि बालाजुकी अनिसा मगरले टिकटकमा छाता ओढाइएको बाटोमा भिडियो बनाएको देखिन्। पातलो मान्छेको आउजाउ भएको बाटोलाई माथिपट्टि रंगीचङ्गी छाताले सजाइएको देखेर उनी लोभिइन् । साथीलाई नभनी बस्नै सकिनन् अनि उनीहरु ५ जना मिलेर अर्को साता जाने योजना बनाइहाले।

शनिबार दिउँसो २ बजे, न्यूरोड गेटबाट टेबहाल जाने बाटोमा उनी साथीसँग उभिएकी थिइन्। १७ वर्षकी मगर दृश्य देखेर अचम्ममा परिन्, ‘टिकटकमा त भाइरल मान्छेहरुमात्रै देखेको थिए, उनीहरु भेटिएलान् भनेर आएको यहाँ त मान्छे साथी नै हराउलान् जस्तै भीड रहेछ।’

उनी साथी नछलिउन् भनेर हात समातेर बसिरहेकी थिइन्। उनीहरु लकडाउन खुलेपछि पनि न्यूरोड नियमित आएका थिएनन्। भीड हुनु सामान्य थियो तर यति कोचाकोच देखेर उनलाई हैरानी भएको थियो।

हैरानी यहाँ आउनेलाई मात्र भएको छैन, वरपर पसल थापेका साहुजीहरुलाई पनि यहाँको भीडले अचम्मित बनाएको छ। न्यूरोड गेटबाट टेबहाल चोक जाँदा बाटोको दुवैपट्टि सटर खोलिएका पसलहरु छन्। दाहिनेपट्टिको लहरमा फोर एस जी कलेक्सन नामको लुगा पसल छ। पसलमा भएका बाबु छोरी फरक फरक सोचिरहेका छन्।

बाबुले भने, ‘केही दिन अगाडि यो बाटोमा को हिँड्ला भनेर सोचिरहन पर्ने थियो, अहिले हिँड्ने ठाउँ खोज्नुपर्छ। यसरी मान्छे आए भने बिस्तारै पसललाई पनि फाइदा होला।’

बाबुको सकारात्मक सोचसँग छोरीको मत भने भिन्न थियो, ‘कोरोना सकिएको छैन, यस्तो भिड भयो भने हामीलाई संक्रमण होला भन्ने डर।’ उनले अगाडि थपिन्, ‘यहाँ त राति पनि मान्छे आउँछन् रे!’

साहुजी बिहान ७ बजे पसल खोल्न आउछन् । छाता राखेदेखि उनले बिहान पनि यो बाटोमा मान्छे फोटो खिच्न आएको देखेका छन्। यसरी मान्छे कहाँबाट आए भनेर उनलाई पनि अचम्म लाग्छ।

छोरीलाई यो छाता किन राखिएको होला भनेर प्रश्न गर्दा उनले ‘संकटा क्लब’ को नाम लिइन्। उनका अनुसार बाटोमा छाता राख्न क्लबले प्रतिनिधित्व गरेपनि पैसा व्यापारीहरुले नै सहयोग गरेका हुन्।

किन राखियो बाटोमाथि छाता ?

संकटा क्लबको सचिव आशीषमान श्रेष्ठले पोर्चुगलमा कुनै ठाउँमा बाटोमाथि छाता राखेको देखेका थिए। मोबाइलमा फोटो सेभ गरे।

लकडाउन खुलेपछि पनि पहिलाको जसरी बजारमा मानिसको चहलपहल थिएन। मान्छे पसलसम्म तान्न नसकिएको गुनासो उनले सुनिरहेका थिए। एक दिन चिया गफमा श्रेष्ठले बाटोमाथि छाता राख्ने कुरा फुत्कियो। उनको कुरालाई सबैले समर्थन गरे। यता लकडाउन खुकुलो हुँदै थियो।

उनीहरुले व्यापरीहरुलाई सहयोग मागे। सबैले यो योजनालाई सकारात्मक रुपमा लिए र पैसा सहयोग गरे।

छाता राखेको १३ दिन मात्रै भयो। सरसल्लाह तीन दिन अगाडि मात्रै भएको हो। यहाँ ४ सय छाता छन्। श्रेष्ठका अनुसार छातामात्रै ३ लाख रुपैयाँको छ। ज्याला त्यसमा जोडिएको छैन।

श्रेष्ठलाई व्यापारीले ‘मान्छे आएनन्’ भन्थे, तर अहिले ‘मान्छे हेर्नुहोस् त!’ भन्छन् । चितवनमा पनि यस्तै बाटाे बनाइएकाे छ।

भिड नियन्त्रण गर्नै गाह्रो

शनिबार टेबहालचोकको बौद्ध स्तूपामा श्रेष्ठ लगायत क्लबका सदस्यहरु भीड व्यवस्थापन गर्दै थिए। स्तुपा परिसरको भित्तामा सजावट गरिएका टायरहरुसँग फोटो खिच्नेको घुँइचो मिलाउन स्तूपामा गेट राखिएको थियो।

छाताको मुनि बाटोमा मान्छेको भिडले ठेलमठेल थियो। त्यही पनि मानिसहरु फोटो खिच्न अनि टिकटकमा भिडियो बनाउन व्यस्त थिए।

बाटोका दुई भागमा भएका पार्किङलाइनमा सवारी साधन हैन, डुलुवा व्यापारी सामान बेच्दै देखिन्थे।

‘नयाँ कन्सेप्टमा साधारण डेकोरेशन मात्रै गरेका हौँ। तर जे सोचेर गरेका थियौँ-  क्राउड यति धेरै भयो कि हामीलाई कसरी व्यवस्थापन गर्ने भनेर चिन्ता परिरहेको छ।’

उनी भन्छन्, ‘सरकारले १ गतेदेखि सबै क्षेत्र खुल्ला गरेको घोषणा गरेपछि हामीले नि केही हुन्न होला भनेर खोल्यौँ, थोरै मान्छे आउला भन्ने थियो। तर हिजोबाट चाप असाध्यै बढेको छ।’

यो ठाउँ सामाजिक सञ्जालमा भाइरल भएको छ। श्रेष्ठको अनुभवमा शुक्रबार क्रिसमसको दिनमा भन्दा शनिबार झन् धेरै मानिसहरु छन्। मानिसको भीड नियन्त्रण गर्नको लागि भोलि क्लब मिटिङ बस्दैछ।

भिडियो पनि हेर्नुहोस्:

‘छ महिना भन्दा धेरै घरमा नै बन्द भएर बल्ल बाहिर निस्केका मानिस फ्रेस हुन आएका हुन भनेर हामीले सकारात्मक रुपमा लिएका छौँ’, उनी भन्छन्, ‘म त खुसी पनि छु, व्यवस्थापनमा पनि लागि रहेको छु। अगाडि कसरी जाने भन्ने बारेमा हजुरहरुको सरसल्लाह पनि चाहिएको छ।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?