
जनकपुरधाम– प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले प्रदेश २ का सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ। केन्द्रीय सर्कुलर अनुसार आठै जिल्लाको सदरमुकाममा नेकपाको दाहाल–नेपाल समूहका कार्यकताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा विरोध प्रदर्शन गरेका हुन्।
सप्तरीमा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवान, सिरहामा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री विश्वनाथ साह, धनुषाको जनकपुरधाममा स्थायी समिति सदस्य गणेश साह, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा तथा पूर्वमन्त्री यदुवंश झाको नेतृत्वमा प्रदर्शन गएिको थियो।
त्यस्तै महोत्तरीमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज राजु खड्का, सर्लाहीमा पूर्वमन्त्री रामेश्वर राय यादव, रौतहटमा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादव, बारामा केन्द्रीय सदस्य कमल न्यौपाने र पर्सामा केन्द्रीय सदस्य उर्मिला अर्याल तथा प्रदेश २ ईन्चार्ज नागेन्द्र चौधरीको नेतृत्वका प्रदर्शन गरिएको हो।
दाहाल–नेपाल समूहले देशभर विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत जनकपुरधाममा गाउँ–गाउँबाट र्यालीसहित आएका दाहाल–नेपाल पक्षका कार्यकर्ताहरुले जनकपुरधाम प्रदर्शन गरेका थिए। धनुषाका विभिन्न नगर तथा गाउँबाट आएको र्याली जनकपुरधामको रेल्वे स्टेशनमा जम्मा भइ नगर परिक्रमा गरेको थियो।
प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक, अमर्यादित र जघन्य राजनीतिक अपराध भएको नेता रामचन्द्र झाले बताए। झाले संविधानको रक्षा गर्नेले नै संविधानको खिल्ली उडाएको आरोप लगाए। उनले प्रधानमन्त्री आलीले देशमा विभिन्न संघर्षपछि कम्युनिस्टले ल्याएको लोकतन्त्रलाई नै समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदम नसच्याएसम्म आफूहरु निरन्तर प्रदर्शनमा रहने बताए।
नेकपाका धनुषा जिल्ला ईन्चार्ज श्रवण यादव बरबरिया (जीवन)को नेतृत्वमा निस्केको जुलुस मिल्सएरिया, भानुचोक, कदमचोक, मूरली चोक, रामचोक, शिवचोक, जनकचोक, हुँदै पुनः रेल्वे स्टेशनमा कोणसभामा परिणत भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश शासक बनेको नेताहरुले आरोप लगाए। संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले गरेको विराेध प्रदर्शनमा श्रवण बरबरिया यादवले ओली तानाशाही, स्वेच्छाचारी र निरंकुश भएको आरोप लगाए।
उनले भने, ‘समाजवादको लक्ष्यसहितको संविधान जारी गरेपनि अहिले आएर ओलीले ‘कु’ गरेका छन्,’ नेता बरबरियाले भने, ‘हामीले आदर गरेका ओली सर्वसत्तावादी बने, स्वच्छाचारी, प्रतिगमनकारी र निरंकुश बने।’