
काठमाडौँ-प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना नायब उपरिक्षक-डीएसपीको सरुवा गरेको छ।
प्रहरी महानिरिक्षक-आईजीपी शैलेश थापाको सचिवालयमा रहेका कवित कटवाललाई हिमाली जिल्लामा ‘आकर्षक’ मानिने सोलुखुम्बुको नेतृत्व दिइएको छ। यसअघि उनी रौतहटको एक इलाका प्रहरी कार्यालयको प्रमुख भएर सोझै आईजिपी सचिवालयमा सरुवा भएका थिए।
पूर्वी रुकुममा गणेशबहादुर श्रेष्ठ, ओखलढुंगामा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका गोविन्दराज काफ्ले , अर्को ‘आकर्षक’ जिल्ला मानिने रसुवामा देवेन्द्र पाण्डेको सरुवा भएको छ।
रामेछापमा नवराज ढुंगाना, दोलखामा भेषराज रिजाल, मधुकुमार थापा जाजरकोट, श्यामकुमार राई म्याग्दी र मनाङमा सुवास खड्काले नेतृत्व पाएका छन्। रंगे हात पक्राउ परेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुद्धा चलाएका राईले अदालतबाट सफाई पाएका थिए।