काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने बताएका छन्।
नेपाली कांग्रेसले शनिबार काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्रीले संविधानमाथि प्रहार गर्दा कांग्रेस चुप लागेर नबस्ने बताएका हुन्।

उनले असंवैधानिक कदमविरुद्धको विरोधका लागि कांग्रेसले विभिन्न चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरे अनुसार आज देशका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा भइरहेको बताए।
झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको र प्रधानमन्त्रीले जबरजस्ती रुपमा अधिकार दुरुपयोग गरेर प्रतिनिधि सभा भंग गरेको उनको भनाइ छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमाथि प्रहार भएको नेता सिंहले बताए।

संविधान निर्माण गर्दा नै राजनीतिक स्थिरता दिन प्रधानमन्त्रीलाई प्रतिनिधि सभा भंग गर्ने अधिकार हटाइएको उल्लेख गर्दै नेता सिंहले संसदले सरकार दिन नसकेको खण्डमा मात्रै प्रतिनिधिसभा विघटन भई चुनावमा जानुपर्ने स्पष्ट व्यवस्था संविधानमा रहेको बताए।
असंवैधानिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव कुनैपनि तरिकाले हुन नसक्ने उनले बताए। दुई तिहाईको सरकार भन्ने तर संसदमा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ भन्दै उनले प्रश्नसमेत गरे।



भर्खरै
लोकप्रिय






































































































































































































