जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि उत्पन्न परिस्थितिमा आफूहरु संवैधानिक सबै विकल्पको लागि तयार रहेको नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन्।
आइतबार जनकपुरधाममा सहीद सत्यनारायण पाठकको शालिक अनावरण कार्यक्रममा उपसभापति निधिले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचन जे भएपनि दुबै विकल्पका लागि कांग्रेस तयार रहेको बताए।
प्रधानमन्त्री ओलीले संविधान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको भन्दै यस समस्याको समाधानका लागि सबै नेपाली जनता एक हुनु आवश्यक रहेको उनले बताए। प्रतिनिधिसभा पुनःस्थापना हुने नहुने कुरो सर्वोच्च अदालतले निर्णय गर्ने भएकाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई चुनावको तयारीमा समेत लाग्न निधिले आह्वान गरे।
नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी रहेकोले आफूहरु निर्वाचनबाट नडराएको भन्दै जनता माझ जान कांग्रेस सदैव तत्पर रहेको निधिले बताए।
नेता निधिले प्रधानमन्त्री ओली संघीयता र गणतन्त्र विरोधी रहेको र उनले संसदीय व्यवस्थामा लगाएको रोगको उपचार अदालतले गर्नेमा विश्वास व्यक्त गरे। यद्यपि अदालतको उपचारअघि प्रधानमन्त्रीको यो कदमको प्रतिकार जारी रहने चेतावनी उनको थियो।
१० महिनापछि गृहनगर जनकपुरधाम आएका नेता निधिलाई स्वागत गर्नका लागि नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु, ८ वटै जिल्लाका जिल्ला सभापतिहरु, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकर्ताहरु पुगेका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































