
जोसिएका भन्छन् सदर हेर्न बाँकि छ
खोसिएका माग्छन् बदर हेर्न बाँकि छ।।
अड्डाको सिङमाङ्बाट कस्ले खाला घिउ
कता जाला अन्तिम् ठहर हेर्न बाँकि छ।।
खुबै जुधे तिल्के मिल्के एउटा रन्थनिन्छ
सिङ् भाँचिने कुन चाहिँ बहर हेर्न बाँकि छ।।
हरुवा ठुटे हेर्छ पुच्छर अर्को छाम्छ जुँगा
कस्को झुक्छ भुइँमा नजर हेर्न बाँकि छ।।
पण्डित आउँछन् उत्तरका दक्षिणका कति
मन्तर सुनाउँदाको असर हेर्न बाँकि छ।।
जता फर्कि उफ्रि माड्छन् ध्वस्त यहि थलो
कति खेत-खलो हुन्छ बगर हेर्न बाँकि छ।।
घरकी हिँडी माइती घर म चाँहि ससुराली
को यता को उता जाने खबर हेर्न बाँकि छ।।
गुड्यो रातमा बख्तरबन्द निदाएको बखत
दिनमा कहिले चल्छ नगर हेर्न बाँकि छ।।
हँसियाको झर्याे पाइन रुख सुक्यो घामले
कस्लाई खोज्छन् गर्न कदर हेर्न बाँकि छ।।
तमासा हेर्दै कटाए दिन खराब मौसमको
बादल फाटि खुलेको सगर हेर्न बाँकि छ।।