
काठमाडौँ – नेकपा एमालेको नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक शनिबार बस्दैछ ।
बैठक बिहान ११ बजे बानेश्वरको एक होटलमा बस्नेछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरुबाट जिम्मेवारी खोसेपछि आफ्नो रणनीति तय गर्नका लागि बैठक बस्न लागेको हो ।
ओलीले शुक्रबार नेपाल पक्षका नेताहरुबाट पार्टीको जिम्मेवारी खोसेका थिए । त्यसलगत्तै नेपाल पक्षको स्थायी कमिटि बैठक बसेको थियो ।
सो बैठकले देशभर समानान्तर कमिटि गठन गर्ने निर्णय गरेको थियो । सो विषयमा थप छलफल गर्नका लागि नेपाल पक्षका केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालतको फैसलाले नेकपाको एकता भंग गरि एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि नेपाल खेमाका नेताहरु एमालेमा नयाँ ‘संघर्ष’ को चरणमा पुगेका हुन् ।