
काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट नेता माधवकुमार नेपालसँग सोमबार दिउँसो वान टु वान भेट गरिरहेका छन्।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा भइरहेको भेट पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान केन्द्रित रहेको बुझिएको छ। यसअघि ओलीले सोमबार नै नेपाल पक्षधर नेताहरुसँग सामूहिक भेट गरेका थिए।
सामूहिक भेटबाट बाहिरिएपछि नेपाल पक्षका नेता रघुजी पन्तले आफुले आफ्ना कुराहरु पार्टी अध्यक्ष ओलीसँग राखेको तर कुनै जवाफ नपाएको बताएका छन्।
सर्वोच्च अदालतले पार्टी एकीकरणपछि बनेको नेकपा नाम बदर गरिदिएर एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएकाले तत्कालीन एमाले नेताहरु आफ्नै ठाउँमा जम्मा हुन थालेका हुन्।
सर्वोच्चको फैसलापछि ओली र नेपालबीच पहिलोपटक भेट भएको हो। यसअघि प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयपछि तत्कालीन नेकपामा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल, झलनाथ खनाललगायत थुप्रै नेताहरुले असन्तुष्टि जनाउँदै विरोध गरेका थिए।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय सर्वोच्च अदालतले उल्टाई दिएपछि तत्कालीन नेकपा फुटको संघारमा पुगेको थियो। तर नेकपा नाम बदर हुँदै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि राजनीतिक कोर्स नयाँ दिशामा अगाडि बढेको छ। त्यसपछि खासगरी प्रचण्ड समूहमा रहेका एमाले नेताहरु आफ्नो पुरानै पार्टीमा गएर संघर्ष गर्ने निर्णयमा पुगेका थिए।
प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेयता ओलीले नेपाल र उनी पक्षका नेताहरुलाई निरन्तर कटाक्ष गरिरहेका छन्। ओलीले चैत ७ गतेका लागि बोलाएको केन्द्रीय समिती बैठक अघि असन्तुष्ट नेताहरुसँग छलफल अगाडि बढाएका हुन्।