
हलिउड अभिनेत्री एन्जेलिना जोलीले ब्राड पिटले घरेलु हिंसा गरेको प्रमाण आफूसँग रहेको बताएकी छन् ।
अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार मार्च १२ मा जोलीले अदालतमा पेश गरेको कागजातमा आफूसँग हिंसाको प्रमाण रहेको दाबी गरेकी हुन् ।
सन्तानमाथि पनि ब्राडले हिंसात्मक व्यवहार गर्ने गरेको आरोपसहितको पत्र पनि जोलीले पेश गरेको इटी अनलाइनले जनाएको छ ।
यस्तै जेठो छोरा म्याडक्सले पिताको थर हटाएर आमाको थर राख्नका लागि औपचारिक प्रक्रिया सुरु गरेको दाबी अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्ध विच्छेद सम्बन्धी मुद्दाको आउँदै गरेको सुनुवाईलाई लिएर जोलीले कागजात दर्ता गरेको उल्लेख छ ।
सन् २००५ देखि साथमा रहेका एन्जेलिना र ब्राडले सन् २०१४ मा बिहे गरेका थिए । तर सन् २०१६ मा आफू र ब्राडबिच गम्भीर भिन्नता रहेको भन्दै जोलीले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेकी थिइन् ।
त्यसपछि ब्राड र जोलीबिच छोराछोरीको कस्टडीलाई लिएर गम्भीर आरोप प्रत्यारोप हुँदै आएको छ। ब्राडमाथि छोराछोरीलाई हात उठाएको आरोप पनि लागेको थियो । तर अनुसन्धानपछि ब्राड आरोपबाट मुक्त भए ।
ब्रान्जेलिनाको रुपमा चिनिएको यो जोडीको पहिलो भेट सन् २००५ को चलचित्र मिस्टर एण्ड मिसेज स्मिथको सेटमा भएको थियो ।
जोलीसँगको बिहे ब्राडको दोस्रो बिहे हो । त्यसअघि ब्राडले जेनिफर अनिस्टनसँग बिहे गरेका थिए । यस्तै जोलीको भने तेस्रो बिहे हो, उनले ब्राड भन्दाअघि बिली बब थोर्नटन र जोनी ली मिलरसँग बिहे गरेकी थिइन् ।
जोली र ब्राडका ६ सन्तान छन् । एन्जेलिना र ब्राडको सम्बन्ध विच्छेदको मुद्दा अहिले अदालतमा छ । सन्तानको कस्टडी (पालन पोषणको जिम्मेवारी) ब्राडले भेट्न पाउने गरि जोलीले पाएकी छन् ।