
नेपालका महत्वपूर्ण राजनीतिक पात्रहरु, चाहे ती सत्ताका हुन या अन्य पक्ष, अहिले राजनीतिज्ञ कम र ‘इन्टरटेनर’ ज्यादा बनेका छन्।
जग हँसाउन जे पनि बोल्ने र गर्ने काममा उनीहरु बढी अभ्यस्त छन्। नेपाली जनतामा उनीहरु ‘जवाफदेही’ पात्र हुन् भन्ने मान्यता बिलाउँदै गएकाले उनीहरुका गतिविधिमा फिस्स हाँस्ने गर्छन्।
‘ओहो’ यी त हाम्रा जनप्रतिनिधि हुन्, नेपाल र बाहिर हामीलाई तथा मुलुकलाई प्रतिनिधित्व गर्ने यी नै हुन् भन्ने बोध हुँदा आत्मग्लानि र अपमानित महसुस गर्ने गर्छन्, तर अधिकांश समय यी नेताहरु सारहीन ‘विदूषक’ कै भूमिकामा स्थापित भएका छन्। राजनीतिमा उनीहरुको पुनरागमन या सम्मानजनक हैसियतको पुनर्स्थापना सम्भव छैन अब।
अहिलेको दैनिकी सरसर्ती हेर्दा, केपी ओलीले केवल पुष्पकमल दाहाल प्रचण्डको हितका लागि उनलाई दुई ठूला वाम दलको विलयपछि निर्मित नेपाल कम्युनिष्ट पार्टीको सह–अध्यक्षको हैसियत प्रदान गरेको, तर आफ्नो ‘महानता’ लाई दाहालले बुझ्न नसकेको दाबी कुनै न कुनै रुपमा सुन्न र देख्न पाइन्छ, सञ्चारमा।
दाहालको प्रतिक्रिया कम चाखलाग्दो छैन। ओली ‘हिटलर’ भएको र लोकतन्त्र तथा परिवर्तन (२०६३) तहसनहस पार्न विदेशी शक्तिहरुको कठपुतली बनेको आरोप छ उनको। सन् २०१८ को निर्वाचन र त्यसपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को विलयपछिका उनीहरुका ‘चाटाचाट’ शैलीका आपसी प्रसंशा अहिले सञ्चार र गुगलका ‘रेकर्ड’ मा छन्।
हिजो हिंसात्मक ‘युद्ध’ का प्रखर विरोधी र माओवादी विरुद्ध राज्यको निर्णायक प्रस्तुतिको वकालत गरेका ओली, शान्ति प्रक्रियापछि प्रचण्ड शैली र रुक्मांगद कटवाल बर्खास्तगी प्रकरणमा राष्ट्रपति रामवरण यादव र सीमापारिसम्म नियमित सम्पर्कमा रही त्यसका विरुद्ध उत्रिएका ओली अनि संविधान जारी हुनु पूर्वको चरणमा ओलीको मन्त्रिपरिषद्बाट बाहिरिएर शेरबहादुर देउवासँग सहकार्य गरेका प्रचण्डको सम्बन्धका उतारचढावका उदाहरण धेरै छन्।
यस्तै भारतीय संस्थापनको काखमा लुटुपुटु गर्दै क्रान्तिका पाइला अघि बढाई ‘राजतन्त्र’ विस्थापनका स्वघोषित महानायक प्रचण्डले पछिल्लो चरणमा कसरी भारतसँगका केही अनौपचारिक समझदारी ओलीसमक्ष पुर्याए ‘वाम एकता’ लाई प्रगाढ बनाउन र कसरी आलोपालो प्रधानमन्त्रीको वचन ओलीले लत्याए एमाले–माओवादी केन्द्र विलय भत्किने गरी, यी भर्खरका घटना हुन्। ओली र दाहालले पार्टी एकता गर्दा नकारात्मक कुरालाई विस्मृतिमा धकेल्ने निर्णय गरे पनि प्रविधिले र आम नागरिकको स्मरण शक्तिले सधैँ नेताहरुलाई साथ दिँदैन। यदि नेकपा झगडामा सिद्धान्त, नैतिकता र राजनीतिक चरित्र, प्रजातान्त्रिक मान्यता तथा राष्ट्रिय स्वार्थ प्रवल भएको भए आज न प्रचण्ड र माधव नेपाल पक्ष यति फितलो हुने थियो, न ओली ‘म नै नेपाल, म नै संविधान र म डुबे सबै डुब्छ’ भन्ने दम्भको यो चरणमा पुग्ने थिए।
माधव नेपाल पक्षका नेता तथा एमाले विदेश विभाग उपप्रमुख नै जब २०७८ मंसिरमा ओलीकै नेतृत्वमा चुनाव गर्नु या संसदका बाँकी दुई वर्ष ओलीकै नेतृत्वको सरकारले निरन्तरता पाउनुबाहेक अन्य विकल्प खुला नरहेको मान्छन्, सत्ता केन्द्रित वर्तमान राजजीतिमा ओली विकल्पहीन नभएको सन्देश जान्छ नै। राजनीतिमा सिद्धान्त र मूल्य मान्यता नहुने, अनि ओलीको विकल्प नभएको तथ्यलाई उनकै प्रतिद्वन्द्वीहरुले प्रचार गर्ने जस्तो विचित्रको यो स्थिति नेपालमा किन अहिले उत्पन्न भयो यो ‘१२ बुँदे लोकतान्त्रिक चरणमा?’
रामायण अधिकांश घरमा पढिने नेपालमा ‘सुनै सुनको भए पनि लंकाले मलाई आकर्षित गर्दैन हे मेरा भाइ लक्ष्मण, किनकी जन्म दिने आमा र जन्मभूमि स्वर्ग भन्दा महान हुन्छन्’ भन्ने रामचन्द्र छैनन्। केपी ओलीले चितवनमा राम जन्माउने कोशिश गरे पनि न ओलीमा न चितवनका प्रचण्डमा रामको त्यो अभिव्यक्ति र त्यसको मर्मको कुनै छाप छ। क्षणिक स्वार्थ र सत्ता जताबाट सुनिश्चित हुन्छ, त्यतै बफादारी यी दुवै प्राणीका राजनीतिक निर्देशक तत्व हुन्।
पश्चिमबाट सूर्य उदाउने महाकालीका नायक ओली र १२ बुँदे लोकतन्त्रका महानायक प्रचण्डको राजनीतिक प्राण केमा छ, कहाँ छ, सबैले बुझेका छन्। तर, जीवन र यथार्थभन्दा ठूला राजनीतिक बुख्याँचा बनेका छन् अहिले उनीहरु दुवै । माधव नेपाल र शेरबहादुर देउवाले त्यही चरित्र र प्रवृत्ति बोके पनि उनीहरु नेपाली राजनीतिका सहायक पात्र बनेका छन् अहिले । मुख्य पात्रहरुको पतनपछि मात्र सहायकहरुको भविष्य केही खुल्ने छ । तर, १२–बुँदे लोकतन्त्र’ का पात्रहरुको पतनसँगै आउने सम्भावना बढी भएकाले सहायकहरुको भविष्य पनि त्यत्तिकै अन्धकारमय बन्न सक्छ ।
नेपाली राजनीतिको यो ‘अनुशासनहीन पर्व’ अब उथलपुथल र प्रलयकै अवस्थामा पुगेको छ। अनपेक्षित रुपमा सर्वोच्च न्यायालयले समेत सत्ता र संविधानलाई उद्धार गर्न सक्ने सम्भावना देखिएको छैन। हो, ओलीले ‘म नै संविधान’ भनेर नथाकेसम्म, या त्यो प्रत्युत्पादक नबनेसम्म या खासगरी १२ बुँदे लोकतन्त्रको जन्मदाता छिमेकीले यसबारे प्रतिकूल टिप्पणी नगरेसम्म यो संविधान विधिवत् समाप्त भएको मानिने छैन।
रामायण भन्दा पछिको महाभारतको ‘अनुशासन पर्व’ समाजमा अन्याय, अत्याचार र सहमतिका मार्ग बन्द हुँदाका परिस्थितितर्फ संकेत गर्दछ । सत्ताको चरित्र धृतराष्ट्रको हो । त्यसैले उसका वरिपरि दूर्योधन हुनु, दूर्योधनका वरिपरि दुशासन र शकुनी हुनु, भिष्म पितामह, विदुर आदिका प्रभाव एउटा चरणसम्म नदेखिनु, कृष्णरुपी विवेक र धैर्यले अन्ततः न्यायको पक्षलाई प्रवल बनाउनु आदि सबै समाजमा आउन सक्ने परिस्थिति हुन् । खालि अहिलेको नेपालको परिस्थितिमा न कृष्ण देखा परेका छन्, न उनले पत्याउने र मार्गनिर्देशन गर्न पाण्डवहरु नै । ‘अनुशासनहीन’ र यसपछि ‘अराजक पर्व’ को चरण हो यो, नेपाली राजनीति र समाजका जीवनमा । तर, धृतराष्ट्र चरित्रमा सत्ता र मोजमस्तीको अवसर नै सत्ताको लक्ष्य हुने हुनाले भोलिका दिनमा दूर्योधनसँग दुसाशन र शकुनि, कर्ण आदि बीच नै लडाइँ हुने अवश्यम्भावी अवस्था आउने छ।
यो स्वार्थको लडाईँमा र राष्ट्रघातको पक्षमा हुने लडाईँ र आन्तरिक द्वन्द्वले नै भोलिको परिवर्तन निम्त्याउने लक्षणहरु अहिले देखिएका छन्। नत्र ओली र प्रचण्ड किन लड्थे? माधव नेपाल किन ओलीको स्पष्ट विरोधमा उत्रन डराउँथे? किनकि यी सबै नेताले २१ औँ शताब्दीको जनवाद, गणतन्त्र, जबज, जे भने पनि बाह्य आशिर्वादमा नै नेपालको राजनीतिक परिवर्तन खोजेका छन् र आफ्नो सत्ताको सुनिश्चितता त्यसको साझा अभिष्ट हो।
अहिलेको लडाईँमा पक्कै पनि संविधान र व्यवस्थाका पर्याय बनेका ओली बलिया देखिन्छन्, आन्तरिक युद्धमा। किनकि उनी आफूलाई आफ्ना मोर्चाको ‘मियो’ का रुपमा प्रस्तुत गर्न सफल भएका छन्। अर्को पक्षमा, या उनको विरोधी पक्षमा कुनै ‘मियो’ नै छैन। त्यसैले ‘मियो’ बिनाको गति, गन्तव्य र चाल कसैको नियन्त्रणमा रहँदैन। एउटा लडेपछि त्यो गर्ल्यामगुर्लुम ढल्छ।
०६३ को परिवर्तनमा अंग्रेजी कूटनीति र फूटनीतिका अभ्यासकर्ता तथा १२ बुँदेका छिमेकी रचयिताहरुले सुधारमा अनेक आवश्यकता रहेको, तर नेपाली राष्ट्रियताको ‘मियो’को रुपमा रहेको राजतन्त्रलाई भौतिक रुपमा उखेल्न ‘आतंकवादीहरु’सँग सहकार्य गरे। ‘मियो’सँगै राष्ट्रियताका विविध शक्तिहरुलाई बाँध्ने र नेपाली राष्ट्रियताको घेरा बाहिर जान नपाउने गरी बाँध्ने ‘धर्म’लाई ‘धर्म निरपेक्षता’ अर्थात ‘धर्मको किनबेच’को अवधारणाले विस्थापित पनि गर्न लगाए तिनीहरुले।
‘धर्म’लाई किनबेचका रुपमा स्वीकार गर्ने राजनीतिज्ञ र शक्तिहरुमा नैतिकता र चरित्र बँच्दैन। नेपाली राजनीतिमा ०६३ मा आएको परिवर्तनका पात्रहरुमा एउटा महत्वपूर्ण साझा विन्दु थियोः आफ्ना मौलिक मान्यतामा सम्झौता गर्ने।
‘विस्तारवादी’ भारतको विरोधको नारा घन्काउने प्रचण्ड र बाबुराम भट्टराईले लिखित रुपमा ‘त्वं शरणम्’ गरे। नेपाली राष्ट्रियता बहुदलीय संसदीय प्रजातन्त्त र संवैधानिक राजतन्त्रका लागि जन्मिएको नेपाली कांग्रेस त्यही समपर्णवादी माओवादीको ‘बी टीम’ बन्न तयार भयो। माधव नेपाल र ओलीको एमालेले कुनै रुपमा फरक बन्न चाहेन। बरु राज्यको कुनै एक धर्म हुनुहुँदैन भन्ने आधारमा ‘धर्म निरपेक्षता’को वकालत गरेको दाबी गरे पनि बालुवाटार र शितलनिवासमा ‘होली वाइन’ को वर्चस्व स्वीकारे।
द्वैध चरित्रले राजनीति, नेता र नेतृत्वलाई कमजोर र उपहासको पात्र मात्र बनाउँदैन कि उनीहरु विदेशी शक्तिहरुको ‘ब्ल्याकमेल’का पात्र पनि बन्न पुग्छन्। हरेक दिन ‘हिटलर ओली’को विरुद्ध ट्वीटमार्फत जनता र नेताहरुलाई अर्ति दिने बाबुराम भट्टराईले ‘मुलुकको चाबी अन्तै भएको’ अभिव्यक्ति दिएर नेपालको स्वतन्त्रता कति कमजोर रहेछ, त्यो देखाए।
प्रधानमन्त्री बनेपछि उनले ४० बुँदेको तेवर कहिल्यै कुनै रुपमा देखाउन सकेनन्, चाहेनन्।
अर्को शब्दमा ओली आज नेतृत्व हैसियतमा छन्। र उनले प्रचण्ड–बाबुराम–माधव नेपाल–महन्थ ठाकुर–उपेन्द्र यादव तथा गिरिजाप्रसाद कोइराला तथा शेरबहादुर देउवा सबैको प्रतिनिधित्व गरिरहेका छन्। ओली गिर्दा अरु नेताहरु ज्यूँदो रहने देखिँदैन।
एउटा काल्पनिक प्रश्न त्यति असान्दर्भिक नहोला यहाँ। २०१५ असोजमा भारतका तत्कालीन विदेश सचिव र हालका विदेशमन्त्री एस जयशंकर नेपाल आए। नेपाली कांग्रेस, एमाले र माओवादी प्रतिवद्ध थिए, ‘फास्ट ट्र्याक’मा तयार गरिएको संविधान तत्काल जारी गर्न। जयशंकरले तत्काल संविधान जारी नगर्न र ‘मधेसी दल’हरुको माग सम्बोधन गर्न सुझाव दिए।
१२ बुँदे मार्फत नेपालको राजनीतिक परिवर्तन र एजेण्डा लादेको ‘मित्र राष्ट्र’का विदेश सचिवले नेपालमा प्रतिरोधको आकार किन कल्पना गर्न सकेनन् त्यसबेला? एउटा मुख्य कारण थियो संविधान जारी नगरी प्रतिक्षारत ओलीले सुशील कोइरालालाई प्रधानमन्त्रीका रुपमा विस्थापित गर्न पाउने थिएनन्। प्रचण्ड पनि अब नेपालको क्रान्तिकारी संविधानका ‘जनक’ बन्ने सोचमा थिए। बाबुराम भट्टराईले मित्रराष्ट्रप्रति केही बफादारी देखाएका थिए, संविधानसँग चित्त नबुझेको भन्दै महत्वपूर्ण समितिको पदबाट राजीनामा गरेर।
यता १२ बुँदेलाई भारतीय हस्तक्षेप भन्दै विरोध गर्दै आएको ‘राष्ट्रवादी’ शक्तिले पनि जयशंकर रवैयालाई मन पराएन। एउटा ठाडो हस्तक्षेप भन्दै विरोध गर्यो। ओली र ‘राष्ट्रवादी’ शक्तिको ‘मिलन विन्दु’जस्तो बन्यो जयशंकर भ्रमण।
एक किसिमले जयशंकरको असफल यात्रा ‘नेपाली संविधान’को जन्मको कारण बन्यो। अर्थात उनी नरुचाइएका ‘जनक’ बने नेपाली संविधानका। तर जुन संविधान जन्मियो, त्यो कति प्रभावहीन रहेछ, अहिले सावित भएको छ। त्यसको सबभन्दा ठूलो ‘फाइदा’ ओलीले उठाएका छन्, सुरुदेखि आजसम्म।
तर नेपाली राजनीतिको यो ‘अनुशासनहीन पर्व’ अब उथलपुथल र प्रलयकै अवस्थामा पुगेको छ। अनपेक्षित रुपमा सर्वोच्च न्यायालयले समेत सत्ता र संविधानलाई उद्धार गर्न सक्ने सम्भावना देखिएको छैन। हो, ओलीले ‘म नै संविधान’ भनेर नथाकेसम्म, या त्यो प्रत्युत्पादक नबनेसम्म या खासगरी १२ बुँदे लोकतन्त्रको जन्मदाता छिमेकीले यसबारे प्रतिकूल टिप्पणी नगरेसम्म यो संविधान विधिवत् समाप्त भएको मानिने छैन।