
सिमकोट – कोरोना संक्रमणको त्रास बढिरहेका बेला हुम्लामा मौसमी फ्लुको बिरामी प्रतिदिन बढ्दै गएका छन्। पछिल्लो ५ दिनयता हिमपात र वर्षा हुँदा चिसो बढेसँगै एक्कासि मौसमी फ्लुका बिरामी बढेका हुन्।
घाँटी, टाउको, शरीर दुख्ने, छाती, पेट दुख्ने, सिँगान आउने, पखाला लाग्ने बिरामी बढेको सिमकोट गाउँपालिका–५ का सौरीकला रावतले जानकारी दिइन्।
६ दिनसम्म बिरामी थला पारेको रावतको घरका अन्य चार जना सदस्य पनि सोही लक्षणका बिरामी छन्। पहिला धुँवा, धुलो र पछि हिमपात तथा पानी पर्दा चिसो बढेपछि यस्तो रोग फैलिएको हो।
यस्ता बिरामी घरघरमा देखा पर्न थालेको स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन्। उनका अनुसार दैनिक ६० जना यस्ता रोगका बिरामी अस्पताल आउने र चेकजाँचपश्चात् औषधि लिएर जाने गर्छन्।
सबै उमेर समूहका बिरामी अस्पताल आउने गरे पनि वृद्धवृद्धा, बालबालिका र दमका बिरामी बढी छन्।
यो समय नै मौसमी फ्लुको भए पनि यस वर्ष बढी बिरामी अस्पताल आउने गरेको चिकित्सक टसी आङ्जु लामाले जानकारी दिए।
कुनै जटिल केशबाहेक अन्य सबै बिरामी चेकजाँचपछि घर फर्कने गरेको उनले बताए।
बढी शंकास्पद बिरामीलाई भने एन्टिजिन किटबाट कोरोना परीक्षण गर्ने गरिएको छ।
कोरोना संक्रमण बढ्न थालेका बेला मौसमी फ्लुका बिरामी बढेपछि केही जटिल बिरामीको एन्टिजिन किटबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको डा. लामाले बताए।
चिकित्सक लामाले मौसमी फ्लुबाट कोही नआत्तिन र लापरबाही पनि नगर्न सबैलाई आग्रह गरेका छन्।