
नौलो नयाँ तन्त्रमा दरबार कति कति
दरबार बसी बनाए घरबार कति कति।।
समृद्धि अमन चयन आउँछ भन्ने आश
म्यानमा सिउरिएका तरबार कति कति।।
आफू भन्दा बलिया छैनन् ठाने अहिले
जता ततै सुनियो ललकार कति कति।।
तँछाड मछाड थिएन बस्थे मिलिजुली
पहलमान धेरै अब तकरार कति कति।।
गजब थिति ल्यायौँ भने बाँडि चुँडि खान
पारे आफ्नै टपरीमा परिकार कति कति।।
पछार्छौँ भोक रोगलाइ भनी गीत गाउँथे
सास फेर्न हावाको दरकार कति कति।।
पाल्नै पनि सकस भयो हाम्रा कमाइले
यता उता छरिएका सरकार कति कति।।