
डाँडा पाखा बग्न थाले त्रास भयो अहिले
जनधन माल मत्ता नाश भयो अहिले।।
कतिले भोगे दुःख पीडा तितर वितर कति
सञ्जालमा खबर मात्रै खास भयो अहिले।।
घर गोठ बगाइ हाल्यो त्रिपाल पर्यो कता
ओत लाग्न रुखमुनि बास भयो अहिले।।
चामल चिउरा थैला भन्दा हल्ला खल्ला धेरै
पार्टीका तुल ब्यानरको रास भयो अहिले।।
सुत्केरीको नाउँ गरि टाउको आफू खान्छन्
चन्दा धन्दा क–कसको गास भयो अहिले।।
पीडितले राहत पाउने कहिले होला कुन्नी
कहिले भन्छन् बैठकबाट पास भयो अहिले।।
हेलिकप्टर रिजाप गरे आउँछ पाउँछौ भन्न
फेरि पनि भोट पाउने आस भयो अहिले।।
प्रकोप झेल्न चाँजो पाँजो मिलिसक्यो भने
बोलेका थिए धेरै कुरा बतास भयो अहिले।।