
सिमकोट – चीनसँग सिमाना जाेडिएकाे हुम्लाकाे हिल्सामा पहिरो जाँदा ९० घरधुरीले प्रयोग गर्दै आएकाे खानेपानीकाे पाइपलाइन बगाएको छ।
हिल्साको नौमुलेमा रहेको मुहानमा माथिबाट आएको पहिराले सबै पाइपलाइन बगाउँदा खानेपानीको समस्या सुरु भएको छ।
शुक्रबार बेलुका खानेपानीको मुहान रहेका नौमुलेमा माथिबाट आएको पहिरोले सबै पाइपलाइन बगाएको हिल्साका होटेल व्यवसायी कर्मा लामाले बताए।
अहिलेसम्म ट्याङ्की भएका घरमा जम्मा रहेको पानीले काम चले पनि ट्याङ्की नभएका घरमा भने खानेपानीकाे सम्सया सुरु भएकाे छ।
सीमा सुरक्षा प्रहरी चौकी ( बिओपी ) का सुरक्षाकर्मीलाई पनि खानेपानीकाे समस्या हुने देखिएकाे छ।
बस्ती तलको कर्णाली नदीको पानी पहिरोले धमिलो भएको कारण पिउन योग्य नरहेको लामाले बताए। पहिरोले खानेपानीकाे पाइपलाइनका साथै २० मिटर भन्दा बढी कर्णाली करिडोरको हिल्साको सडक पनि भत्काएको छ।
हाल हिल्सामा २२ जना सर्वसाधारण र १५ जना सीमा सुरक्षार्थ खटिएका प्रहरी रहने गरेका छन्।