
रोजगार भनि विदेश तिर फाले हामीलाई
फाँडो होकी अचार बनाइ गाले हामीलाई ।।
रिति थिति मिलाउ भनि ताँती लागि जाँदा
कटबाँसको लौरो ठोक्दै ढाले हामीलाई ।।
नाता गोता उनीहरुकै अध्यक्ष र जियम
सलाम ठोकी ढोका तान्ने पाले हामीलाई ।।
बालुटार सिंहदरबार आफ्नै भागमा पारे
हाम्रै अंश झुक्काइ खाने जाले हामीलाई ।।
जुलुस चाहिए गाउँबाट टरकमा ल्याउने
बाघचालका बाख्रा ठान्दै चाले हामीलाई ।।
आफू तान्ने सोम रस घिउमा शिकार तारि
स्यालले खाको भुत्ला बाँकी भाले हामीलाई ।।
बोली भाषण नपत्याउनु झ्याली पिटे पनि
फटाहा हुन्छन् भन्थे यिनि बाले हामीलाई ।।
ज्ञान गुनका समझदार परे भित्ता पाखा
नखरमाउला सरम छाडा छाले हामीलाई ।।
करोडौँका गाडी साडी तिनका अग्गा पच्छा
गाडा घिच्च्याइ थाक्या गोरु माले हामीलाई ।।
आफू चाहिँ सिटमा बस्न मुद्दा माम्ला गर्ने
दोहर्याइ तेहर्याइ धोक्रोमा हाले हामीलाई।।