
काठमाडौँ – सोमबार एकैपटक ४० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । यस वर्षको आरोहण सुरु भएको दोस्रो दिन एकैपटक ४० आरोही विश्वकै सर्वोच्च शिखरमा पुगेका हुन् ।
सगरमाथा आधार शिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार स्वदेशी तथा विदेशी नागरिकले आरोहण सम्पन्न गरेका छन् ।
“हामीलाई प्राप्त जानकारीअनुसार ४० आरोहीले सर्वोच्च शिखरको आरोहण गरेको पुष्टि भएको छ, थप केही आरोही पनि शिखरमा पुगेको सूचना आए पनि पुष्टि भइसकेको छैन”, सम्पर्क अधिकृत श्रेष्ठले भने ।
अनुकूल मौसमको पर्खाइमा क्याम्प चारमा मात्रै १५० आरोही रहेका छन् । त्यस्तै केही आरोही भने सगरमाथा आधार शिविरमा नै रहेका छन् ।
दुवै खुट्टा नभएका चिनियाँ आरोही शिखरमा
सम्पर्क अधिकृत श्रेष्ठका अनुसार दुवै खुट्टा नभएका ७० वर्षीय चिनियाँ नागरिक सिए बोयोले सोमबार बिहान सगरमाथाको शिखरमा पुगेका छन् ।
इमाजिन ट्रेक्स एण्ड एस्पिडिसन प्रालिकातर्फबाट आरोहण गर्नुभएका चिनियाँ नागरिक विगत ४० वर्षदेखि सगरमाथाको आरोहण गर्ने प्रयासमा थिए । उनीसँगै सात चिनियाँ आरोहीले सोमबार नै सफल आरोहण गरेका छन् ।
चिनियाँ टोलीसँगै नेपाली शेर्पा आरोही ताम्तिङ शेर्पा, किली पेम्बा शेर्पा, आङ्छिरिङ शेर्पा, टेण्डी शेर्पा र दावा ग्याल्जेन शेर्पाले पनि आरोहण गरेका छन् ।
सन् २०१५ मा पनि आरोहणमा लागि पुगेका बोयो भूकम्पका कारण आरोहण परित्याग गरी फर्किएका थिए ।
शारीरिकरुपमा कमजोर भएका नागरिकले सगरमाथा आरोहण गरेको यो पाँचौँ उदाहरण हो । यसअघि न्युजील्याण्डका मार्क इनलिसले तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेका थिए ।
एकै मौसममा दुई आरोहणको कीर्तिमान
सम्पर्क अधिकृत श्रेष्ठका अनुसार यस ऋतुमा नेपाली महिला आरोही निमा जाङ्मु शेर्पाले सगरमाथा र ल्होत्सेको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।
शेर्पाले यही वैशाख १६ गते ल्होत्सेले सफल आरोहण गरेका थिए । उनले सोमबार सगरमाथाको आरोहण सम्पन्न गरेका हुन् ।
यस वर्ष चार नेपालीसहित ३८ आरोहण दलका ३६४ आरोही गन्तव्यतर्फ लागेका छन् । यसमध्ये चार समूहमा २० जना नेपाली छन् ।
अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ वटा समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए ।