
काठमाडौँ – नेपालमा पहिलोपटक भएको हाई अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ। दोलखाको चरिकोटस्थित फुटबल मैदानमा भएको प्रतियोगितामा विभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगिताको हेभी वेट च्याम्पियनको उपाधि चट्टानले उचालेका छन्। साविक विजेता नुवाकोटे टाइगरलाई हराउँदै चट्टान आरडब्लूको हेभी वेट च्याम्पियन बनेका हुन्। च्याम्पियन बनेका चट्टानले नगद एक लाख ५० हजार पुरस्कारसहित आरडब्लू बेल्ट प्राप्त गरेका छन्।
प्रतियोगिताको लाइट वेटतर्फको उपाधि सीजे वल्र्डले जिते। उनले उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे। ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने। उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे।
लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने। साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे। ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने। उनले एक लाख २० हजार रुपैयाँ जिते। रोयल ब्याटल म्याचमा साइन विजेता बने। उनले ४५ हजार रुपैयाँ प्राप्त गरे।
बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलोपटक हाई अल्टिच्युड रेस्लिङ प्रतियोगिता आयोजना गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।खेलाडीहरुको हौसला बढाउन चरिकोट पुगेका मन्त्री अथकले पुरस्कार वितरणका क्रममा खेलाडीहरुलाई थप लगनशिल भएर खेल क्षेत्रमा लाग्न प्रोत्साहन गरेका थिए।
उनले नेपालमा पहिलोपटक सञ्चालन भएको हाई अल्टिच्युड रेस्लिङ प्रतियोगिताले खेलकुद क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए।
प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारीले केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यबाट मात्र खेलकुद पर्यटनको विकास गर्न सकिने धारणा राखे।
नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले आगामी दिनमा नेपालमै अन्तर्राष्ट्रियस्तरको हाई अल्टिच्युड रेस्लिङ प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको बताए।