
भक्तपुर – प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बेशीटोलबाट शुक्रबार बिहानै कौडा खेल्ने खेलाउने १५ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट दुई लाख ६८ हजार ३९० रुपैयाँसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बेशीटोलस्थित दीपककुमार तामाङले सञ्चालन गरेको मंगोलियन वेभ रेस्ट्रो एण्ड बारभित्र पैसाको हारजीत हुने गरी मानिसहरु कौडा (जुवा) खेलिरहेका छन् भन्ने विशेष सूचनाका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरीले बारका सञ्चालक चाँगुनारायण नपा ६ तेलकोट बेशीटोल बस्ने ४० वर्षीय दीपककुमार तामाङसँगै सोही टोलका वर्ष ४२ का धनबहादुर तामाङ, वर्ष २४ का वीरवल तामाङ, वर्ष २६ का शुक्रे तामाङ, वर्ष २१ का राजकुमार तामाङ, वर्ष २९ का सञ्जय तामाङ, वर्ष ३० सोनाम लामा र वर्ष ३५ का मनकुमार तामाङलाई नियन्त्रणमा लिएको छ।
त्यस्तै बेशीटोल नै बस्ने वर्ष ३६ को दिलीपकुमार तामाङ, वर्ष ३९ का राजकुमार थिङ, वर्ष ३२ को बिल भन्ने वीरबहादुर तामाङ, वर्ष २४ का कुमार तामाङ, वर्ष ३५ का सुरज लामा, वर्ष ३४ का दिलीप तामाङ र गोरखाको जरङ गाउँपालिका ४ घर भई हाल बेशीटोल नै बस्ने वर्ष ३७ का सुमन गुरुङलाई नियन्त्रणमा लिइएको छ।
विशेष सुराकीले सूचना दिएलगत्तै उक्त स्थानमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक सुदन केसीको कमाण्डमा प्रहरी टोली खटी गई बारभित्र छापा मारेको प्रहरीले जनाएको छ।
प्रहरीले पैसाको हारजीत हुने गरी कौडा खेलिरहेको अवस्थामा फेला पारी १५ जनालाई नै नियन्त्रणमा लिएको थियो। प्रहरीले जुवा खालबाट कौडा २०९ थानसमेत बरामद गरेको छ।
बारका सञ्चालक तामाङले पहिलैदेखि नै पैसाको हारजीत हुने गरी जुवा खेल्ने खेलाउने गरेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।