काठमाडौँ– घरको कामकाज र छोराको हेरचाह मालती पुरीको दिनचर्या थियो। सधैँजसो छोरो डोहोर्याउँदै श्रीमान्को ‘अटो वर्कसप’ पुग्थिन्। उनको मनमा पनि वर्कसपको काम सिक्ने रहर पलायो। आफ्नो रहरका बारेमा श्रीमान्लाई सुनाइन्।
श्रीमान्ले पनि रहर पूरा गर्ने मन्जुरी दिए। त्यसपछिका दिन फरक भए उनका लागि। सधैँ छोरो खेलाउन जाने मालती अब भने मोटरसाइकल मर्मत गर्न सिक्न थालिन्। छोरालाई स्कुल पठाएर उनी वर्कसप पुग्थिन्। उनलाई श्रीमान्ले पनि साथ दिए।
‘मेरो श्रीमान् मोटरसाइकल आफै बनाउन भएकाले मलाई सिक्न सजिलो भयो’, विगत सम्झिँदै उनी भन्छिन्, ‘मोटरसाइकल कसरी बनाउने भन्ने सबै कुरा उहाँले निकै राम्रोसँग सिकाउनु भयो। उहाँको सिकाउने तरिका निकै राम्रो छ। सिकाउँदा रिसाउँनु हुन्न। जसले गर्दा सिक्न सजिलो भयो।’
उनले हरेक कुरा चाँडै सिक्न थालिन्। अप्ठेरो काम श्रीमान्ले नगर भन्दा पनि उनले हार मानिनन्। एउटै कामलाई दिनभर लगाएर भए पनि उनले पूरा गर्थिन्। यो आजभन्दा १५ वर्ष अघिको कुरो हो।
…
आज उनी मोटरसाइकल तथा स्कुटर मर्मत गर्न सिपालु बनिसकेकी छन्। श्रीमान्ले आफूलाई कहिल्यै कमजोर महसुस हुन नदिएको उनी बताउँछिन्।
‘मेरो रहर पनि थियो। बाध्यता भएको भए म सिक्दैन थिएँ होला। रहर भएर छिट्टै सिकेँ’, उनी भन्छिन्, ‘उहाँले मलाई जहिले काम गर्नुपर्छ भन्ने हौसला दिनुहुन्थ्यो।’
घरको सबै खर्चको जोहो पुरुषले गर्नुपर्ने र महिलाले घरको काम तथा बालबच्चा हेर्नु पर्ने प्रचलन अझै पनि छ नेपाली समाजमा। तर श्रीमान्लाई सघाउन पाउँदा मालती निकै दंग छिन्। ‘सधैँ श्रीमान्को कमाइमा रमाउने होइन कि आफ्नो कमाइमा रमाउनु पर्छ’, उनी भन्छिन्, ‘आफ्नो कमाइ भयो भने आनन्द आउँछ र श्रीमान्को भार पनि कम हुन्छ।’
श्रीमान्लाई सघाइरहेकी मालतीलाई निरुत्साहित गर्ने पनि थिए। ‘केटी मान्छेले किन यस्तो काम गर्नु पर्यो, घर बस्ने, घरको काम गर्ने भनेर हेप्ने गर्थे’, उनले सुनाइन्, ‘तर कतिले हौसला दिए। राम्रो काम गरेको भनेर प्रशंसा गरे।’
उनले अझै पनि नेपाली समाजमा सुधार आएको देखेकी छैनन्। नेपाली समाजमा महिला–पुरुषमा विभेद नहटेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘पहिलेभन्दा अहिले निकै सुधार आएको छ। महिलाहरु पनि कामकाजी भएका छन्। पढेलेखेका छन्। तर महिला–पुरुषमा गर्ने व्यवहारमा अझै सुधार भएको छैन।’

मोटरसाइकल बनाउँदै मालती पुरी।
‘पुराना गाडीहरु बनाउन आउँछ। नयाँ मोडलका गाडी आउँदा शोरुमले ट्रेनिङ दिन्छन्’, उनी भन्छिन्, ‘पहिले त काम गर्न धेरै गाह्रो थियो। तर अहिले सजिलो छ। किनभने अहिले डिजिटल भइसक्यो। जसले गर्दा काम गर्न सजिलो छ। आफूलाई नआएको कुरा युट्युबबाट पनि सिक्न सकिन्छ। अहिले काम गर्न धेरै सजिलो छ।’
उनी घरको काम पनि सम्हाल्छिन्। काम र परिवारलाई सन्तुलित हिसाबले मिलाउँछिन्। वर्कसपको काममा मात्र होइन, घरको काममा पनि श्रीमान्को त्यति नै साथ छ, उनलाई।
उनी आफ्नो सपना पूरा हुनुको श्रेय श्रीमान्लाई दिन्छिन्। ‘उहाँले त मलाई बिहेपछि पनि पढाउँछ खोज्नु भयो’, उनले हाँस्दै भनिन्, ‘अल्छी लाग्यो, थाहा भएन किन म पढिनँ।’
धेरै पढ्न नसके पनि उनले अक्षर चिन्न सक्छिन्। उनी भन्छिन्, ‘पढ्न धेरै जरुरी छ, विशेषगरी महिलाले। अहिले नपढेर काम छैन।’
उनी सबै महिलालाई पढ्न र आफ्नो केहि काम गर्न आग्रह गछिन्। ‘वर्कसपकै काम गर्नुपर्छ भन्ने छैन। आफ्नो जस्तोसुकै काम भए पनि गर्नुपर्छ’, उनले भनिन्।
वर्कसपको काम गर्दा पनि फरक नपर्ने उनी भन्छिन्। उनका अनुसार यस काममा महिलाहरु निकै कम छन्। ‘महिलाहरुलाई वर्कसपको ट्रेनिङ निकै कम छ। कालोमैलो नभनी काम सिक्न सकिन्छ’, उनले भनिन्, ‘यसमा बल धेरै लाग्छ सोच्छन् तर त्यसो होइन बृद्धिले पनि धेरै काम गर्न सकिन्छ। अहिले नयाँ प्रविधिले गर्दा काम गर्न सजिलो छ।’
यसका लागि कामसँग रमाउन सक्नुपर्ने उनी बताउँछिन्। उनले आफ्नो हात देखाउँछै भनिन्, ‘हेर्नु हात फुटेको छ। हामी कालोमैलो भनेर मतलब गदैनौँ। म त यतिकै पनि हिँड्छु।’
आफ्नो सीपलाई अन्य महिलामा बाड्ने उनको इच्छा छ। घरायसी कारणले त्यो पूरा नभएको उनले सुनाइन्।
‘मलाई यस सम्बन्धी महिलालाई ट्रेनिङ दिने मन छ। ट्रेनिङ दिने भनेर प्रोसेस गरेको थिएँ। घरायसी कारणले पूरा भएन’, उनले भनिन्, ‘अब भने पुरा हुन्छ की!’
महिलालाई ट्रेनिङ दिने मालतीको इच्छा पूरा गर्न नायारण पुरी (मालतीका श्रीमान्) साथ दिने बताउँछन्।
नारायणको वर्कसप यात्रा
नारायणलाई सानोछँदा मोटरसाइकल चढ्न औधी मन पथ्यो। उनलाई मोटरसाइकल देख्नै हुन्थेन। देख्यो भने आफूलाई चढाउन भन्थे। तर उनको सुनुवाइ हुँदैन थियो।
सुनुवाइ भए पनि शर्त पूरा गर्नु पर्थ्यो, नारायणलाई। ‘बच्चामा खुब रहर लाग्ने मोटरसाइकल चढ्न। त्यो बेला धेरै मोटरसाइकल पनि नहुने’, उनले भने, ‘ एक पटक साथीलाई भनेँ मोटरसाइकल चढ्न दे भनेर। उसले मेरो खुट्टा ढोग भन्यो। त्यसपछि मेरो मनमा कस्तो–कस्तो लाग्यो। ए बाबा मोटरसाइकल मैले चढ्न किन नसक्ने?’
तर कसरी चढ्ने ? उनी सोच्न थाले।
सो कुरा उनले आफ्ना दाइलाई सुनाए। ‘दाइले मोटरसाइकल बनाउन सिक न भन्नुभयो। उहाँले आफ्ना साथीलाई यो फुच्चे मोटरसाइकल बनाउन सिक्छ रे भन्नुभयो। उहाँले पनि ल पठाइदिनु भन्नुभयो’, उनले सुनाए। ।
जब मोटरसाइकल बनाउन सिक्न थाले, उनी कक्षा ६ मा पढ्थे। मोटरसाइकल चढ्ने रहरले मोटरसाकल बनाउन सिक्न थाले नारायण।
मोटरसाइकल चढ्ने रहरले उनले विस्तारै मोटरसाइकल सम्बन्धी सम्पूर्ण काम सिके। मोटरसाइकल पनि चढे। काम सिक्दा उनले धेरै मेहनत गरे। तर उनलाई सिकाउनेले गलत तरिकाले पनि काम गर्न सिकाए। तर उनी कहिले निराश भएनन्।

नारायण पुरी।
‘सुरुसुरुमा आफूभन्दा ठूलाको भर पर्नुपर्ने। उनीहरुले जे सिकायो त्यहि सिक्नुपर्ने। कति जनाले मलाई उल्टा पनि सिकाए। पहिले जसले जान्यो उसले मात्र जान्यो । धेरै मान्छे नहुने, सिक्ने ठाँउ धेरै नहुने’, उनले भने, ‘अहिले सजिलो छ। सबैले सिकाउँछन्। सिकाउनेले जे सिकायो त्यहि सिक्ने हो।’
नारायण जिज्ञासु थिए। सिकाउनेलाई उनले के कसरी भनेर प्रश्न गरिरहन्थे। उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘म सोध्थेँ। उल्टो बनाउँदा के हुन्छ? यसो गर्दा के हुन्छ? कसैले भन्नु हुन्थ्यो। कसैले एउटा चुरोट खुवाउ अनि भन्छु भन्नुहुन्थ्यो।’
जे जस्तो भएपनि आफूले काम सिकेको उनी बताउँछन्।
त्यसबेला (२०४६) देशको राजनीतिक अवस्था त्यति राम्रो थिएन। जसका कारणले साहुहरु अन्तै गए। नारायणले काम गुमाए।
‘२०४६ सालतिर राजनीतिक अवस्थाले गर्दा बस्नै गाह्रो भयो। के गर्ने गर्ने भयो। कहिले हड्तात कहिले नाकाबन्दीले गर्दा साहुहरु सिफ्ट भए’, उनले भने, ‘बाँच्नलाई त केही काम गर्नु पर्यो।’
काम गर्नलाई उनीसँग अनुभव थियो। उनका बुबाको रहर पनि छोरो पढेलेखेर जागिर खाओस भन्ने थियो। नारायणले प्लसटु पास गरे। स्नातकमा भर्ना पनि भए। तर पढाइ पूरा गर्न सकेनन्।
‘परिवारको अवस्था राम्रो थियो। ठूलो परिवार छ। बुबाले राम्रोसँग पढेर जागिर खाउ भन्नुहुन्थ्यो। तर जागिर एकातिर, म एकातिर भएँ’, उनले भने।
त्यसपछि उनले आफूले सानोमा सिकेको सिपलाई व्यवसायिक रुपमा अगाडि बढाउने निधो गरे। त्योताका उनको खोजीमा मात्र तीन सय रुपैयाँ थियो। सोही तीन सय रुपैयाँमा उनले करिब २७ वर्षको उमेरमा २०५० सालमा ललितपुरको पुलचोक नजिक स्तुपा पछाडि गल्लीमा सानो पसल खोले। मुख्य बजारमा पसल खोल्न उनीसँग पर्याप्त रकम थिएन।
‘मसँग त्यो बेला खल्तीमा ३ सय रुपैयाँ मात्र थियो। तर साथीभाइहरुले धेरै सहयोग गरे। कसैले केही सहयोग गरे, कसैले केही’, उनले भने, ‘सबैले माया गर्ने भएकाले सहयोग गरे। पुराना ग्राहकहरुलाई पनि पसल खोलेको छु आउनुस् भनेँ। उहाँहरु पनि आउनुभयो।’
पसल खोलेको साल मंसिरमा उनले मालतीसँग बिहे पनि गरे। बिहे गरेको एक वर्षपछि छोरा जन्मियो। उनको काँधमा जिम्मेवारी थपियो। जिम्मेवारी थपिए पनि उनी परिवारसँग खुसी थिए। आफ्नो हातमा सीप भएकाले उनलाई त्यति धेरै आर्थिक भारको सामना गर्नु परेन।
तर पनि आफू एक्लै काम गर्नुपर्ने भएकाले केही समस्या भयो। ‘एक्लै काम गर्दा समस्या थियो’, उनले भने, ‘एक्लै हुँदा यताउता जान मिल्दैन थियो। श्रीमतीले छोरालाई डोर्याउँदै पसल ल्याउँथिन्। अनि उनलाई पसल हेर्न लगाएर म बाहिर काम गर्न निस्कन्थेँ।’
श्रीमतीले काम गर्न थालेपछि उनलाई सजिलो भयो। छोरालाई स्कुल पढाएर दुबै जना मिलेर काम गर्ने गरेको उनले बताए।

नारायण पुरी।
उनले विद्युतीय गाडी बाहेक सबै प्रकारका गाडी बनाउँछन्। ट्रेनिङ पनि दिन्छन्। लिन्छन् पनि। ट्रेनिङकै सिलसिलामा उनी दिल्लीसम्म पुगेका छन्।
‘सबै कम्पनीका मोटरसाइकल तथा स्कुटर बनाउँछु। ती कम्पनीले हामीलाई ट्रेनिङ दिन्छन्’, उनले भने, ‘विद्युतीय गाडी पनि आउँछन्, तर ती सम्बन्धी आफूलाई ज्ञान नभएकाले ग्राहकलाई कम्पनीमा जान आग्रह गर्छु। विद्युतीय कम्पनीहरुले हामीलाई ट्रेनिङ दिएका छैनन्।’
उनलाई यसरी ग्राहक फर्काउँदा नरमाइलो लाग्छ। तर आफूसँग त्यससम्बन्धी ज्ञान नभएकाले ग्राहक फर्काउन बाध्य छन्। अहिले सरकारले विद्युतीय सवारी साधनलाई प्रोहत्साहन गरिरहेको छ। धेरैले विद्युतीय सवारी साधन खरिद पनि गरेका छन्।
उनका अनुसार आफूहरुलाई पनि नयाँ मोडलका बारेमा जानकारी दिनु आवश्यक रहेको उनको भनाइ छ। ‘पहिलेभन्दा अहिले काम गर्न सजिलो छ। पहिलेजस्तो सबै पार्टपुर्जा खोल्नु पर्दैन’, उनले भने, ‘अहिले युट्युबबाट सिक्न सकिन्छ। त्यहाँबाट पनि बनाउन सिक्छौँ।’
उनको व्यवसाय पनि राम्रो भइरहेको छ। सानो पसललाई ठूलो बनाएका छन्। ‘अहिले राम्रो भइरहेको छ। छोरा अमेरिका पढ्छ। घर पनि बनाइसकेका छौँ। खान पुग्ने कमाइ भएको छ’, उनले भने।
मालती र नारायणले घरायसी वातावरणमा आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेका छन्।