
भक्तपुर – नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापतिमा दुर्लभ थापा पुनः विजयी भएका छन्। कांग्रेस संस्थापन पक्षका थापाले संस्थापनइतरका अष्टकुमार कवेलाई दोस्रोपटक पराजित गरेका हुन्।
कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको मंगलबार बिहानै परिणाम आएको हो। जसमा विजेता थापाले ५५५ मत पाउँदा पराजित कवेले ४४२ मत ल्याए।
जिल्ला सभापतिसँगै भक्तपुरमा संस्थापन पक्षले क्लिन स्वीप गरेको छ। जसअनुसार उपसभापतिमा विजेश अवाल र उर्मिला वन, सचिवमा राजेश खड्का र सुशील बस्नेत तथा सहसचिवमा कृष्णमुरारी न्यौपाने र यादवप्रसाद अधिकारी निर्वाचित भएका छन्।
पराजित कवे कांग्रेस नेता प्रकाशमान सिंह पक्षीय हुन्। उनलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला र विमलेन्द्र पक्षीय नेताहरुले समर्थन गरेका थिए। जिल्ला अधिवशेनकै बीच संस्थापनइतरलाई समर्थन गरेको शेरबहादुर देउवा पक्षीय नेपाल कानुन आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशी समूहले सभापतिमा दुर्लभ थापालाई नै समर्थन गरेको थियो।
क्षेत्रीय अधिवेशनको पूर्वसन्ध्यामा संस्थापनइतर समूहकै कोइराला परिवार पक्षीय वरिष्ठ पत्रकार कविर राणा र उनको समूहले क्याम्प चेञ्ज गरेका थिए। जसको परिणामस्वरुप जिल्ला सभापतिमा दुर्लभ थापा दोस्रोपटक बाजी मार्न सफल भएका छन्।
दुई समूहमा विभाजित कांग्रेसले भक्तपुरमा नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भने बराबर हात पारेका छन्। जिल्ला सभापति जितेको संस्थापन समूहले प्रतिनिधिसभा क्षेत्र नं १ मा जीवन खत्री, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (क) मा जयन्द्र खड्का र क्षेत्र नं २ (क) मा प्रदीप कार्की तथा चाँगुनारायण नपामा शिवहरि केसी र सूर्यविनायक नपामा निशान ढुंगेल सभापति जितेको छ।
संस्थापनइतर समूहले भक्तपुर क्षेत्र नं २ मा भेषबहादुर कार्की, प्रदेशसभा निर्वाचन क्षेत्र नं १ (ख) मा शिवप्रसाद अवाल र क्षेत्र नं २ (ख) ओमप्रकाश श्रेष्ठ तथा भक्तपुर नपामा राजेन्द्र तमखू र मध्यपुर थिमि नपामा हरिदास प्रजापति सभापति जितेको छ।