
काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगार व्यवसायीलाई छलफलका लागि बोलाएका छन् । मन्त्रीविष्टले आइतबार दिउँसो प्रमुख व्यवसायीहरुलाई अहिले देखिएको वैदेशिक रोजगारीको समस्या समाधानका लागि छलफल गर्न बोलाएका हुन् ।
मन्त्रीले पार्टीगत व्यवसायीका अध्यक्ष, संघका वर्तमान पदाधिकारी तथा पूर्व अध्यक्षलाई मात्रै बोलाएका छन् । वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न भन्दै एकपछि अर्को निर्णय गर्दै आएका मन्त्रीले यसअघि व्यवसायीसँग कुनै छलफल नगरेको संघका अध्यक्ष रोहन गुरुङले बताए ।
तर आफूहरुसँग छलफल नगरेपनि केहि निर्णय भने आफूहरुले माग गरेअनुसार नै भएको उनको भनाई छ । मलेसियामा भैरहेको स्वास्थ्य परीक्षण लगायतका सिन्डिकेट तोड्न म्यानपावर व्यवसायीले पनि माग गर्दै आएका थिए ।
अध्यक्ष गुरुङले भने, ‘मन्त्रीज्यूले बोलाउनु भएको छ, किन हो भन्ने थाहा छैन । तर समस्या समाधानका लागि हो भने हामी त्यहि अनुसार सुझाव दिनेछौं । म खराब गर्ने व्यवसायीको अध्यक्ष होइन, उनीहरुलाई संरक्षण गर्न सक्दिन, कारबाही गर्नुस् नै भन्छु ।’
तर वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष विमल ढकालले भने मन्त्रीलाई मनपरी नगर्न आग्रह गरेका छन् । उनले भने, ‘मन्त्रीज्युको अहिलेको काम हेर्दा राजनीतिक प्रतिसोध साँधेको देखिन्छ, यसलाई उहाँले तत्काल रोक्नुपर्छ । प्रचारमुखी भन्दा पनि परिणाममुखि काम गर्न मन्त्रीलाई आग्रह गर्छु ।’
यसअघि पटक पटक व्यवसायीले भेट्न खोज्दा पनि समय नदिएका मन्त्रीले आइतबार भने आफैं बोलाएका हुन् । म्यानपावर कम्पनीको धरौटी वृद्धि गर्ने र कडा कारबाही गर्ने तयारी भैरहेको बताइएका बेला मन्त्रीले बलाउनु अर्थपूर्ण छ ।