
वरिपरि जमिन सबै भिर लाग्न थाल्यो
छेउको खाडल देख्दा पिर लाग्न थाल्यो।।
अघिअघि पहरामा कुहुनु ठोकियो भन्थे
आजकल ठाउँ कुठाउँ शिर लाग्न थाल्यो।।
अर्काको पिठिउँ चढी फुर्ती लगाइ आउने
स्यालले सातो लगेका वीर लाग्न थाल्यो।।
अरुको गुनगान सुन्दा भित्र जाली फुट्ने
कानबाट घोचिएको झिर लाग्न थाल्यो।।
तालुमा आलु फल्छन् बखत दाहिने हुँदा
अँध्यारोमा हाने पनि तीर लाग्न थाल्यो।।
गुलियो खाइ खाइ मधुमेहले छोइसकेका
फुलेका खैरा जुँगामा खिर लाग्न थाल्यो।।