
भक्तपुर – चिकित्सकहरुले शिशुलाई सफल स्तनपान गराउन गर्भवती महिला पहिल्यै तयार हुनुपर्ने बताएका छन्।
सुत्केरीपछि सफल स्तनपान गराउन नसकिए आमा र शिशु दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्ने उनीहरुले बताएका हुन्।
चिमालय च्यारिटी नेपालको प्राविधिक सहयोगमा रोटरी क्लव अफ मध्यपुरद्वारा आयोजित ‘सफल स्तनपान र पोषण’ विषयक परामर्श कार्यक्रममा चिकित्सकहरुले सफल स्तनपानको लागि गर्भवती बेलादेखि नै तयारी गर्नुपर्ने सुझाव दिएका हुन्।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रका गर्भवती महिलाहरुको लागि आयोजित परामर्श कार्यक्रममा चिकित्सकहरुले सफल स्तनपान गराउन नसकिए सुत्केरी महिलाको मनोविज्ञानमा नकारात्मक असर पर्नेसमेत स्पष्ट पारे।
‘कुनै कुनै आमाहरुलाई स्तनको मुन्टो राम्रोसँग नखुलेर अथवा मुन्टो स्तनभित्र नै पसेर स्तनपान गर्न समस्या हुन्छ। यस्तो बेला नवआमाहरुको मनोविज्ञानमा नकारात्मक असर पर्न जान्छ’, रोटरी क्लव अफ मध्यपुरका पूर्वअध्यक्ष एवं बालरोग विशेषज्ञ डा रामकृष्ण चन्द्योले भने, ‘यस्तो स्थितिमा शिशुले पनि स्तनपानबाट बञ्चित हुनुपर्छ।’
यस्तो अवस्थालाई असफल स्तनपान भनिने स्पष्ट पार्दै उनले सफल स्तनपानको लागि गर्भवती बेलादेखि नै आवश्यक तयारी गर्नुपर्ने सुझाव दिए। ‘पहिल्यै तयारी गरे बच्चा जन्मेपछि सफल स्तनपान गर्न र गराउन धेरै सहयोग पुग्छ’, डा चन्द्योले थपे।
त्यस्तै
अर्का बालरोग विशेषज्ञ डा मञ्जेश्वरी उलकले असफल स्तनपानले आमामा स्तनको मुन्टो चर्किने, घाउ हुने र पाक्नेजस्ता समस्या हुने बताइन्।
सहयोगी संस्था चिमालय च्यारिटी नेपालकी अध्यक्षसमेत रहेकी उनले सफल स्तनपानको लागि बच्चा र आमाको सही आशन र सम्पर्क स्थापित गर्नुपर्ने स्पष्ट पारिन्। सफल स्तनपान भएमात्रै बच्चाले आवश्यक पौष्टिक तत्वहरु प्राप्त गर्ने डा उलकले बताइन्।
उनले बच्चा जन्मेपछि एकघण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने र ६ महिनाको उमेरसम्म आमाको दूधमात्र दिन सकेमा आमा र बच्चा दुवैको स्वास्थ्यमा दीर्घकालसम्म फाइदा पुग्ने औंल्याइन्।
कार्यक्रममा पोषणविज्ञ नमुना उलकले गर्भवती र सुत्केरी महिलाको पोषणबारे जानकारी दिएकी थिइन्। उनका अनुसार गर्भवती भएका बेला सामान्यभन्दा थप ३५० क्यालोरी पोषण आवश्यक पर्छ। उनले प्रोटिन र फ्याटको उचित मात्रा आवश्यक पर्ने भएकोले महिलाले खाने दैनिक खानामा ख्याल गर्नुपर्ने सुझाव दिइन्।
‘गर्भवती भएको बेला खाएको सन्तुलित खानामा भिटामिन र खनिज जस्ता उचित सूक्ष्म पोषण तत्वहरु हुनु आवश्यक छ’, उलकले भनिन्, ‘त्यसैले सागसब्जी र फलफूलको नियमित सेवन गर्नुपर्छ। यसबाट सुत्केरीपछि स्तनपान गराउँदा बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्वहरुको आवश्यकता सुनिश्चित हुन्छ।’
कार्यक्रममा सहभागी गर्भवती महिलाहरुलाई कोभिड १९ रोकथामको लागि आवश्यक मास्क, स्यानिटाइजर र स्तनपानसम्बन्धी जानकारीमूलक सामग्रीसहितको ब्याग वितरण गरिएको थियो। रोटरी क्लव अफ मध्यपुर र चिमालय च्यारिटी नेपालले गर्भवती महिलाहरुको लागि नियमित परामर्श कार्यक्रमसँगै सुत्केरीपछि नर्सहरुमार्फत घरदैलो गरी स्तनपानसम्बन्धी परामर्शसमेत दिइँदै आएको चिमालय च्यारिटी नेपालकी अध्यक्ष डा उलकले जानकारी दिइन्।