
काठमाडौँ – देशको पूर्वी क्षेत्रमा आइतबार सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मध्य तथा पश्चिममा पोखरा आसपासको क्षेत्रसहितका ठाउँमा आंशिक बदली हुने मौसमविद वरुण पौडेलले बताएका छन् ।
पूर्वमा न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेकाले मौसम बदली भएको हो । त्यहा क्षणिक वर्षाको सम्भावना पनि छ ।
पश्चिमका क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण बेलुका तिर क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद पौडेलले बताए । पूर्वको तुलनामा मध्य तथा पश्चिम क्षेत्रको मौसम सफा रहने उनले बताए ।
यस्तै काठमाडौँ उपत्यकामा आइतबार मौसम आंशिक बदलीको अवस्था रहने छ । शनिबार यो वर्षकै बढी गर्मी भएको काठमाडौँमा आइतबार पनि तापक्रम बढी रहने देखिएको छ ।
शनिबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१.५ डिग्री सेल्सियस पुगेको थियो । आइतबार २९ देखि ३१ को बिचमा तापक्रम पुग्ने अनुमान छ ।
शनिबार सबैभन्दा गर्मी नेपालगञ्जमा थियो । त्यहाँ शनिबारको अधिकतम तापक्रम ४२.२ डिग्रीसेल्सियस पुगेको महाशाखाले जनाएको छ ।
यस्तै धनगढीमा ४१.२ तथा दीपायलमा ३९ डिग्री पुगेको थियो । पश्चिम क्षेत्रको मौसम पूर्वको तुलनामा खुला रहेकाले आइतबार पनि त्यस्तै हाराहारीमा तापक्रम पुग्ने अनुमान छ ।