
काठमाडौँ– ढल मर्मतको क्रममा भेटिएको पुरातात्विक महत्वको शिलालेख तत्कालका लागि सुरक्षाका लागि पाटन दरबार संग्रहालयमा राखिएको छ।
गएको सोमबार (पुस ५ गते) पाटन दरबार क्षेत्रको भीमशेन मन्दिर अगाडि ढल खन्ने क्रममा शिलालेख भेटिएको हो।
पुरातत्व विभाग अन्तर्गतको फोटोग्राफी तथा डकुमेन्ट्री शाखाकी नर्वदा श्रेष्ठ प्राचीन अभिलेखसहितको शिलालेखको सुरक्षा–हेरचाह तथा त्यससम्बन्धमा भइरहेको अध्ययनको अनुगमनका लागि सोमबारदेखि नै पाटन दरबार क्षेत्रमा खटिँदै आएकी थिइन्।
बुधबार साँझ पर्दैगर्दा नर्वदा श्रेष्ठसहित पुरातत्व विभागका अधिकारीहरुको रोहबरमा शिलालेखलाई ढल खन्दै गरिएको खाल्डोबाट निकालेर सुरक्षाका लागि पाटन दरबार संग्रहालयमा लगिएको हो।
‘तत्कालका लागि यो अभिलेखको सुरक्षा हाम्रो प्राथमिकता हो, त्यसले अहिलेलाई पाटन दरबार संग्रहालयमा राखिने छ’, श्रेष्ठले भनिन्, ‘अभिलेखको स्पष्ट पहिचान भइसकेपछि के गर्ने वा कहाँ राख्ने भन्ने बारे निर्णय हुनेछ।’
लिच्छविकालीन शिलालेख
गएको सोमबार पुरातत्वविद प्रकाश दर्नालसहितको टोलीले शिरानमा दायाँबायाँ मृग र बिचमा धर्मचक्रसहितको शिलाखेल ढल खन्दै गरिएको स्थानमा प्राचीन अभिलेख फेला पारेका हुन्।
‘मलाई सोही दिन नै शिलालेख भेटिएको भन्दै लिपि अध्ययनका लागि बोलाउनु भएको थियो,’ लिपि विशेषज्ञ श्यामसन्दुर राजवंशीले भने, ‘म सोमबार आउन पाइन, त्यस दिन उहाँहरुले पठाएको फोटो हेरेको थिएँ । मंगलबार र बुधबार (आज) दुई दिन मैले यो शिलालेखको लिपि अध्यननको प्रयास गरेको हुँ ।’
नेपालका प्राचीन लिपिहरुका जानकार राजवंशीले पाटन दरबार क्षेत्रको ढुंगेधाराको उत्तर–पश्चिम अर्थात पुनर्निर्माण हुँदै गरेको भीमसेन मन्दिरको पूर्वतिरको जमिनको गर्भमा भेटिएको शिलालेखमा अक्षरहरु खुट्याउने प्रयास गरिरहेका छन्।
‘शिलालेखमा सिमेन्ट पनि परेको रहेछ, त्यसले गर्दा अहिले नै सबै अक्षर पढ्न सकिएको छैन’, लिपि विशेषज्ञ राजवंशीले भने, ‘तर यो अभिलेख लिच्छविकालीन हो भन्ने स्पष्ट भएको छ ।’
पाटनमा भेटिएको अभिलेखको मिति ५३६ लिच्छवी संवत देखिएको राजवंशीले बताए । उनले भने, ‘यसरी हेर्दा लिच्छवी संवतको ५३६ भनेको इस्वी संवदमा ६१३ हुन्छ अर्थात यो शिलालेख सातौँ शताब्दीको दोस्रो दशकको हो भन्ने स्पष्ट भएको छ ।’
लिच्छवी संवत ५२७ सम्म शिवदेव र अंशुवर्माले मिलेर शासन गरेको र त्यसउपरान्त अंशुवर्मा एक्लैले शासन गरेको इतिहास छ । यसरी हेर्दा हाल भेटिएको अभिलेखमा ५३६ जेष्ठ लेखिएकाले यो अंशुवर्माको मालामा राखिएको देखिन आएको राजवंशीले बताए ।
शिलालेखका लिच्छवी लिपिमा रहेको र ती लिपिहरु स्पष्ट रुपमा बुझिने अवस्थामा नरहेकाले विस्तृतमा बताउन थप अध्ययनको खाँचो रहेको राजवंशीले बताए ।
१५ पंक्तिमा रहेको अभिलेखका केही अक्षरहरु भने पहिचान गरिएको भन्दै राजवंशीले भने, ‘अहिलेसम्म लिपि, समय र मोटामोटी अभिलेखको विषयवस्तु पनि आँकलन गर्न सकिने भएको छ । बिहारको विषयवस्तु हो कि भन्ने छ । बौद्धबिहारको कुरा हुनु पर्छ ।’
अभिलेखमा वृषदेव राजा कारितक अर्थात वृषदेव राजाको पालामा बनाइएको बौद्धबिहार बारे लेखिएको हुन सक्ने अहिलेसम्मको लिपि अध्ययनबाट आँकलन गरिएको राजवंशीले बताए ।
उनले भने, ‘वृषदेव पछि शंकरदेव, त्यसपछि धर्मदेव अनि मानदेव राजा भएका थिए । मानदेव अघिका अभिलेखहरु खासै फेला परेका छैनन्, त्यसैले कुन वृषदेवको कालखण्ड स्पष्ट छैन ।’ तर अहिले भटिएको अभिलेख अंशुवर्माको पालमा राखिएको भए पनि त्यसमा वृषदेवको पालाको बौद्धबिहार बारे लेखिएको हुन सक्ने आँकलन गरिएको र थप अध्ययनपछि स्पष्ट हुन सकिने राजवंशीको भनाइ छ ।
जमिनको गर्भमा भेटिएको अभिलेख त्यहाँ कसरी पुग्यो भन्ने खुलेको छैन । तर विसं २०३० को दशकमा पाटन दरबार क्षेत्रमा ढलको काम भएकाले त्यस बेला नै अभिलेख त्यहाँ भेटिएर पुरिएको हुन सक्ने र सोही बेलाको निर्माणको क्रममा सिमेन्ट लागेको हुन सक्ने अनुमान छ ।
‘त्यसबेला किन यो अभिलेखबारे खोजी गरिएन भन्ने प्रश्न हो, त्यस बेला नै पहिचान गरिएको भए अहिलेजस्तो अप्ठ्यारो पनि पर्ने थिएन होला’, राजवंशीले भने ।
अभिलेख पढ्न के गरिएको छ?
भेटिएको शिलालेखको विषयवस्तु अध्ययनका लागि तस्बिर लिने तथा त्यसका लिपिहरु मिहिन तवरले हेर्ने काम लिपि विशेषज्ञ राजवंशीसहितको टोलीले गरेको छ । यस्तै अध्ययनका लागि सजिलो होस् भनेर चारवटा ठूलो आकारका कागजमा शिलालेखको लिपी छापिएको छ ।
शिलालेखका अक्षरहरु कालो मसीको सहायतामा कागजमा उतार्ने प्रक्रिया रोबिन गर्ने भनिन्छ । चारवटा कागजमा राजवंशीले रोबिन गरेर अक्षर उतारेका छन् । अब लिइएका तस्बिर, शिलालेख स्वयम् र रोबिन गरी अक्षर उतारिएको कागज अध्ययन गरिने र अभिलेखबारे थप स्पष्ट हुने प्रयास गरिने पुरातत्व विभागले जनाएको छ ।
तर अहिलेको अभिलेख र २६ वर्ष पहिलो गोकर्ण बालुवामा भेटिएको अभिलेखको मिति उही सालको रहेकाले लिच्छविकालमा एउटा मात्रै संवत प्रचलनमा रहेको भन्ने कुरामा स्पष्ट भएको दाबी राजवंशीले गरेका छन् ।
इतिहासविदहरुले लिच्छविकालमा लिच्छवी संवत र सत संवत प्रचलनमा रहेको बताउने गरेका छन् । तर आफूले फेला परेका दुई अभिलेखहरुको विश्लेषण गर्दा लिच्छविकालमा दुईवटा संवत नरहेको स्पष्ट भएको राजवंशीको भनाइ छ ।
अहिले फेला परेको अभिलेखले वृषदेवको पालाको बिहारबारे जानकारी दिनुका साथै लिच्छविकालको संवतलाई लिएर रहँदै आएको विवादको निरुपण हुने पनि उनले बताए ।