
नेपालगञ्ज – गत भदौ ११ गते दिउँसोसम्म सुन्दर लोनियाको घर आफ्नै जग्गामा थियो। राति परेको पानीले बिहान दश बजेतिर डुडुवा खोलामा बाढी आयो। खोलाले कटान सुरु गर्यो। तीन बज्दा नबज्दै लोनियाको फुसको घर ढल्यो।
लोनियाले तेस्रोपटक सारेर त्यो घर बनाएका थिए। दश धुरजतिमा रहेको घर कटानमा परेर भत्किएपछि लोनिया पूर्ण रुपमा विस्थापितमात्रै होइन, सुकुम्बासी नै बनेका छन्। सुन्दरको दुई कठ्ठा दश धुर जग्गामा अहिले डुडुवा खोला बगिरहेको छ।
पहिला सुन्दरको घर राप्ती नदी नजिक थियो। २०७१ सालमा आएको ठूलो बाढीपछि राप्ती नदी धार परिवर्तन गरेर टाढा पुग्यो। डुडुवा खोला घर नजिकै आइपुग्यो। आठ वर्षको बीच उनले तीन ठाउँमा घर बनाए। अन्तिममा गत भदौमा आएको बाढीले सुन्दरको आफ्नो जग्गाबाट नै उठीबास लगायो।
‘डुडुवा खोला फैलिँदै आउँछ। म घर सार्दै जान्छु’, सुन्दर भन्छन्, ‘अहिले त खोलाले उठीबास नै लगायो।’
डुडुवा गाउँपालिका कधैपुरुवाका लोनियाले अहिले गाउँछेउकै अधिया (बटैया) जग्गामा झुपडी बनाएका छन्। राप्ती नदी र पछिको डुडुवा खोलाको कटानलाई नियन्त्रण गर्न नसक्दा सुन्दरका परिवार गाउँबाट विस्थापित भयो। अधिया जग्गामा अलि पर खोला छेउमै सुन्दरले झुपडी बनाएका छन्। एकान्त ठाउँमा रहेकाले रात परेपछि परिवारका सदस्यहरु बाहिर निस्किन डराउँछन्। पुसको यो चिसोमा सुन्दरको परिवार बिचल्लीमा छ।

अधिया जग्गामा अहिले बनेको लोनियाको घर।
सुन्दरकी बुहारी सुनिता लोनियाले खोला छेउमै एकान्तमा घर हुँदा रात परेपछि डर लाग्ने गरेको बताइन्। राज्यले खोलामा बलियो तटबन्ध नबनाइदिँदा सुन्दरको परिवार विस्थापित हुन पुगेको हो। ‘यो अधिया जग्गामा घर बनाएका छौं। कहिले उठाइदिन्छन्, थाहा छैन’, सुनिताले भनिन्, ‘हाम्रो जग्गा खोलामा परेको छ। के गर्नु जतिबेलासम्म हुन्छ । यही बस्छौं।’

गाउँपालिकाले डुडुवामा बनाएको बाँसको तटबन्ध।
भदौ ११ गते कधैपुरुवामा जाँदा लोनिया खाद्यान्न, लत्ताकपडा, दाउरा ओसार्दै थिए। दिउँसो १ बजेतिर सुन्दरले घरको डिलमा बसेर रोटी खाए। अहिले त्यहाँ डुडुवा बगिरहेको छ। स्थानीय सरकारले बाँसको तटबन्ध बनाएको छ। त्यो आँखामा छारो हाल्नेमात्रै छ । बाढी आएमा कटान रोक्न सक्दैन।
राप्ती नदी र डुडुवा खोलाको चपेटामा पर्दै आएको छ, डुडुवा गाउँपालिकाका धेरै गाउँ। नदीले बेला–बेलामा धार परिवर्तन गरिरहने भएकाले कहिले कुन गाउँ डुबानमा पर्छ त कहिले कुन गाउँ। भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सडकजस्तो बाँध निर्माण गरेपछि डुडुवा गाउँपालिकाका बासिन्दाले ३०औं वर्षदेखि डुबान, कटान र पटानको समस्या भोग्दै आएका छन्।
राप्ती नदीको दुवैतिर भारतको सहयोगमा पक्की तटबन्ध बनाउने तयारी भइरहे पनि त्यो पूरा हुन सकेको छैन। सरकारले न भारतलाई छिटो तटबन्ध बनाइदेउ भन्न सकेको छ न त आफैले छिटो बनाउन सकेको छ। भारतको दादागिरी र नेपालको लाचारीको मार सुन्दर लोनिया जस्ताले व्यहोरिरहेका छन्।