
बाग्मती – हेटौंडा उपमहानगरपालिका–१० राप्तीतटमा शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु भएको छ।
उपमहानगरपालिकाले आफ्नो योजनाअनुसार शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए।
सो मेसिन उपमहानगरपालिकाले भारतबाट रु ५५ लाख ६५ हजारमा खरिद गरी ल्याएको बताइएको छ। यही माघ महिनाको अन्त्यसम्ममा मेसिन जडान सकेर शवदाहका लागि तयार हुने उपमहानगरपालिकाले जनाएको छ।
मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत रोकिने, वातावरण प्रदूषण नहुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ।
एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाहका लागि शुल्क तिर्नु नपर्ने उपमहानगरपालिकाले जनाएको छ। मेसिनमा शवदाह गर्दा वरपरको क्षेत्रमा समेत दुर्गन्ध हुने समस्यासमेत हट्ने बताइएको छ। -रासस