
काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको प्रमुखमा फेरि आफ्नो दाबेदारी रहेको बताएका छन्।
काठमाडौँ महानगरपालिका २१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधरनारायण परिसरको फल्चा र पार्कको शिलान्यास गर्दै उनले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा उम्मेदवारी दिने बताएका हुन्।
प्रमुख शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने बताए।
‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ। म एउटा पार्टीको कार्यकर्ता हुँ। पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो’, उनले भने, ‘अर्को भनेको महानगरवासीको चाहना के छ? त्यो पार्टीले बुझेर पार्टीले जिम्मा दिए काम गर्ने हो।’
शाक्यले महानगरपालिका ऐतिहासिक, सांस्कृतिक सम्पदालाई संरक्षण, सम्बर्द्धन र पर्यटनसँग जोड्ने काम महानगरको भएको बताए। महानगरको नीतिअनुसार आगामी दिनमा पनि सांस्कृतिक सम्पदाको संरक्षण गर्दै जाने उनको भनाइ छ।
प्रमुख शाक्यले विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौँको विकासका लागि महानगर लागिरहने बताए। उनले रानीपोखरीको केही काम बाँकी रहेकोले काम सम्पन्न हुनासाथ सर्वसाधारणका लागि खुला गरिने जानकारी दिए।