
काठमाडौँ – केन्द्रीय अनुसन्धान व्युरोले संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने वस्तु एक थानसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
व्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौँको टोखा नगरपालिका- ९ आनन्द टोल नजिकबाट लमजुङको दोर्दी गाँउपालिका- ८ खिन्चोक बस्ने वर्ष ३५ को मनबहादुर सिलुवाल क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।
टोखा नगरपालिका- ९ क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा क्षेत्रीलाई नियन्त्रणमा लिइएको व्युरोले जनाएको छ।
व्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार क्षेत्रीको साथबाट २४० ग्राम तौल भएको संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने वस्तु एक थान बरामद भएको थियो।
क्षेत्रीलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि शुक्रबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।