
काठमाडौँ-मलेसियाको अध्यागमन विभागले गैरकानूनी हैसियतमा बसेका प्रवासी कामदारलाई देश छाड्न थप समय दिँदै धरपकड सुरु गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै आगामी अगष्ट ३० सम्ममा आफ्नै देश फर्किन अल्टिमेटम दिएको हो
विज्ञप्तीमा गैरकानुनी प्रवासी कामदार वैधानिक हुन अब समय नथपिने समेत प्रस्ट पारेको छ । मलेसियामा नयाँ सरकार बनेसँगै त्यहाँको गृहमन्त्रालयले अवैधानिक कामदारलाई हटाउन कडा कदम चाल्न थालेको छ । प्रवासी कामदार मात्रै हैन अहिले त्यहाँको सरकार आफ्नै देशका निकायमाथि समेत कडा बनेकाे छ ।
यो समयमा आफ्नै देश नफर्किए उनीहरुलाई रोजगारी दिने रोजगारदाता कम्पनीलाई समेत कारबाही गरिने मन्त्रालयले जनाएको छ । गैरकानुनी आप्रवासी कामदारलाई अघिल्लो वर्ष पनि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म समय दिएको थियो । वर्ष जनवरीदेखि जुन ३० सम्मका लागि समय थपिएको थियो ।
यस्तै मलेसियाको अध्यागमन विभागले विभिन्न ठाउँबाट अवैधानिक कामदार पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । पक्राउ पर्ने कामदार कुन कुन देशका छन् भन्ने सार्वजनिक गरिएको छैन । मलेसियामा करिव १ लाख अवैधानिक कामदार रहेका अनुमान गरिएको छ।
अवैधानिकरुपमा काम गरिरहेका नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्किन नेपाली दूतावासले आग्रह गरेको छ ।