
काठमाडौँ – पूर्वी क्षेत्रको मौसम सोमबार सामान्यतया बदली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी वायुको प्रभावका कारण देशका पूर्वी क्षेत्रको मौसम बदली हुने देखिएको मौसमविद वरुण पौडेलले जानकारी दिए ।
तर दिउँसो केहीबेर घाम लाग्ने र त्यसपछि फेरि बादल लाग्ने सम्भावना रहेको उनले बताए । यस्तै बेलुकातिर विशेष गरी पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना पनि छ ।
यस्तै काठमाडौँसहितका मध्य क्षेत्रमा उत्तर प्रदेशसहितका क्षेत्रमा बनेको न्युनचापीय प्रणालीका कारण जलवाष्पयुक्त हावा आएको र त्यसका कारण बेलुकातिर बादल लागेर पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए ।
पश्चिमका क्षेत्रमा भने सामान्यतया मौसम सफा रहने देखिएको छ । तर पश्चिमका पहाडी क्षेत्रमा बेलुकातिर पानी पर्ने सम्भावना भने छ । बेलुका तिर पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।