
काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिका १ दहचोक थापागाउँमा बिरालोको पासोमा चितुवा फेला परेको छ। स्थानीय दलबहादुर बुढाले बिरालोलाई थापेको पासोमा चितुवा परेको भेटिएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कुखुराको खोरमा बिरालोले दुःख दिएपछि बुढाले पासो थापेका थिए। जग्गा भाडामा लिएर कुखुरा पाल्दै आएका बुढाले बिरालाको लागि थापेको पासोमा मंगलबार राति चितुवा परेको भेटिएको काठमाडौँ प्रहरीले जनाएको छ।
चितुवाको अगाडिको दाहिने खुट्टा पासोमा अड्केको अवस्थामा फेला पारिऐको थियो। पासोमा परेको चितुवालाई महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले जिल्ला वन कार्यालय काठमाडौँको सहयोगमा उद्धार गरिएको काठमाडौँ प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।