
रुसी आक्रमणमा परी युक्रेनमा अमेरिकी पत्रकारले ज्यान गुमाएका छन्।
युक्रेनका आन्तरिक मामिला मन्त्री एन्टन गेरास्चेन्कोका अनुसार रुसी आक्रमणमा परी किभ क्षेत्रको इर्पेनमा न्युयोर्क टाइम्समा काम गरिसकेका पत्रकार ब्रेन्ट रिनाउडको निधन भएको हो।
५१ वर्षीय पत्रकार रिनाउन्टलाई इर्पेनमा गोली हानिएको आन्तरिक मामिलामन्त्री गेरास्चेन्कोले उल्लेख गरेका छन्।
घटनामा अर्का एक पत्रकार पनि घाइते भएका छन्।
‘रुसी क्रुरता देखाउँदै गर्दा अमेरिकी नागरिक रिनाउडको निधन भयो’, आन्तरिक मामिलामन्त्री गेरास्चेन्कोले भनेका छन्। उनले रिनाउडको न्युयोर्क टाइम्सको परिचयपत्र पनि देखाएका थिए।
यद्यपि न्युयोर्क टाइम्सले रिनाउड केही वर्षअघि आफ्नो संस्थामा कार्यरत रहे पनि अहिले आफ्नो संस्थासँग सम्बद्ध नभएको उल्लेख गरेको छ। ‘उनले झुन्ड्याएको पुरानो कार्डका कारण त्यस्तो खबर बाहिरिएको हो,’ न्युयोर्क टाइम्सले भनेको छ।
रिनाउड पत्रकारका साथै फिल्म निर्देशक तथा पिबडी र डुपोन्ट अर्वाडका विजेता हुन्।
रेनाउड ब्रदर्स नामबाट उनले आफ्ना भाइसँग मिलेर विश्वका हट स्पटहरूबाट मानवतावादी कथाहरू सुनाउने गर्थे। उनीहरुका परियोजनाहरूले इराक र अफगानिस्तानमा युद्धहरू, हाइटीमा भूकम्प, इजिप्ट र लिबियामा राजनीतिक उथलपुथल, मोसुलको लागि लडाइँ, अफ्रिकामा अतिवाद, कार्टेल हिंसालाई पनि समेटेका छन्।
मेक्सिकोमा र मध्य अमेरिकामा युवा शरणार्थी संकट पनि उनीहरुले समेटेका छन्।
*यसअघि रिनाउड न्युयोर्क टाइम्समा कार्यरत भनी उल्लेख भएकामा सच्चाइएको छ।