
काठमाडौँ – वीर अस्पतालले रगतजन्य आनुवांशिक रोगको निःशुल्क उपचार सेवा सुरु गरेको छ।
सोमवार एक कार्यक्रमबीच अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु गरेको जनाएको हो।
अस्पतालबाट अब रगतजन्य रोगहरुको निःशुल्क उपचार गर्न पाइनेछ। कार्यक्रममा वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रबहादुर बस्नेतले सोमबारबाट रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुल्क सेवा सुरु भएको बताए।
उनले अबका दिनमा अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुचारु गर्नेतर्फ लागिरहेको जानकारी दिए। कार्यकारी निर्देशक बस्नेतले भने, ‘मेडिकल सेक्टरका सर्भिसहरुलाई धेरै विस्तार गर्ने अवसर पाएका छौँ। त्योमध्ये एउटा अवसर यो मेडिकल जेनेटिक्स एण्ड हेमोफिलिया डि केयर सेन्टर हो। यसमा रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुुल्क हुन्छ।’
कार्यक्रममा रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा.निरजकुमार श्रेष्ठले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएको बताए।
उनले अब अस्पतालले हेमोफिलियाका बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र यो रोगसम्बन्धी प्रारम्भिक जाँच परीक्षण पनि निःशुल्क हुने जानकारी दिए।