
काठमाडौँ – स्थानीय निर्वाचन नजिकिँदै गर्दा देशव्यापी संगठनको सञ्जाल विस्तार गर्न जुटिरहेको राप्रपामा समान विचार भएका व्यक्ति, समूह र संगठनहरु समाहित हुने क्रम जारी छ। दिनहुँजसो राजधानी बाहिरका कार्यक्रमहरुमा सहभागी भइरहेका अध्यक्ष राजेन्द्र लिङ्देनले किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियानलाई संस्थागत रुपमै राप्रपामा समाहित गराएका छन्।
राप्रपामा यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियान, नेपालका लागि नेपाली अभियानको अधिकांश हिस्सा, मिसन नेपाललगायतका संगठन राप्रपामा समावेश भइसकेका छन्। विभिन्न समूहसँग औपचारिक अनौपचारिक संवाद र छलफल चलिरहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
यसैगरी राप्रपाले नेतृत्वलगायत पार्टीको सम्पूर्ण सुरक्षा हेर्ने गरी गठन गरेको राष्ट्रिय युवा मोर्चाको नेतृत्वमा हेरफेर गरेको छ। मोर्चाको अध्यक्षमा काठमाडौँका सुरज पाण्डे कालो बाहुनलाई चयन गरेको छ। अध्यक्ष लिङ्देनले मोर्चालाई आवश्यक कार्ययोजना बनाई पेश गर्न निर्देशन दिएका छन्।
यसअघिका अध्यक्ष रहेका केदार धमला पार्टीको काठमाडौँ महानगर समितिको अध्यक्ष भएकाले मोर्चाले नेतृत्व परिवर्तनका लागि पार्टीलाई आग्रह गरेको थियो।
राप्रपाले चैत २५ गते काठमाडौँमा स्थानीय तहको निर्वाचन केन्द्रित आमसभा गर्दैछ। यो आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले दाबी गरेका छन्। उनका अनुसार राप्रपाले साना, मझौला र ठूला गरी ६३ वटा सभाहरु गरिसकेको छ।