
काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धन दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन्।
राजधानीको बुद्धनगरमा बुधबार आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले तालमेलको मोडालिटी तय गर्न गठबन्धनका दलहरुबीच छिट्टै बैठक बस्ने जानकारी दिए।
‘कांग्रेस केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गर्ने निर्णय गरेको थियो’, उनले भने, ‘संसदमा कांग्रेसको उपस्थिति कस्तो थियो, कसरी र कसका कारण कांग्रेसको नेतृत्वमा सरकार निर्माण भयो। यी सबै कुराको ख्याल राख्नुपर्छ। गठबन्धनको औचित्य बाँकी नै छ।’
चुनावी तालमेलको विपक्षमा रहेका नेताहरुप्रति लक्षित गर्दै उनले भने, ‘वास्तविक धरातलमा उभिन अनुरोध गर्दछु।’
अब मतदाताले पनि चुनावमा लेखाजोखा गर्ने बेला आएको उनले बताए। ‘देश र जनताका लागि कुन पार्टीले के गरेका छन् भनेर अब मूल्यांकन हुन्छ’, सिंहले भने।