सगरमाथा जित्ने छोरीहरु (शृङ्खला–३)

‘सगरमाथा, कहिँ कतै गल्ती भयो भने मलाई माफ गर’

+
-

‘अहिले खानमात्र मन लाग्छ, निदाएको निदायै गर्न मात्र मन लाग्छ, खाना खान ट्वाइलेट जान, पानी खान मात्रै उठ्ने।’ अरु बेला सुतेको सुत्यै। बढ्ने उमेरको बच्चा जस्तो पेटभरि खायो, भुसुक्क सुत्यो। सगरमाथा आरोही स्वतन्त्र पत्रकार देउराली चाम्लिङलाई सगरमाथा चढेर आएपछि अहिले यस्तो भएको छ। तर यस्तो अनुभूति जेठ ९ गते भन्दा अगाडि थिएन। त्योभन्दा अगाडि एउटा मात्र मोह थियो, एउटै भोक। विश्वको सर्वोच्च शिखर सगरमाथा चुम्ने।

निन्द्रामा देखेको सपना कहिलेकाहिँ पूरा हुन्छ, कहिले आधा त कहिले सकिनै लागेको बेलामा आँखा खुल्छ। मनमा खुलदुली मच्चिन्छ, त्यसपछि के हुन्थ्यो। तर चाम्लिङले सगरमाथाको उचाइमा पाइला राख्न देखेका सपना खुला आँखाले देखिएको सपना थियो जसलाई पूरा गर्न उनीले कयौँ राता जागा बसिन्। ‘ननिदाएको धेरै रातहरु छन्, अपूरो सपना देखेर बिउँझिएको बेला हुने छट्पटी जस्तो सधैँ लाग्थ्यो, अगाडि के होला? बेस क्याम्पका टेन्टमा कयौँ रात ननिदाई बितेका छन्।’

वैशाख ५ गते लुक्लाको लागि यात्रा गरेपछि सगरमाथाको चुचुरो नटेकुञ्जेल र त्यो भन्दा अगाडिको एक वर्षदेखि राम्ररी नआएको निन्द्रा र भोक अहिले आएको हो कि जस्तो पनि लाग्छ आरोही देउराली चाम्लिङलाई। खुल्ला आँखाले देखेको यो सपना डेढ वर्षको तपस्यापछि पूर्ण भयो। पेशा पत्रकार भएकोले महिला पत्रकारको टोलीको नै पहिचान बोकेर उनी पनि अरु चार जनासँगै गएकी हुन्।

त्यो चुचुरोमा पुगेर धेरै काम गर्नुपर्ने पनि थियो। सहयोगी हातहरुको पोस्टरसहितको फोटो खिच्ने, नेपाल टेलिभिनजबाट लाइभ प्रशारण गर्ने। चाम्लिङ भन्छिन्, ‘त्यहाँ हाम्रो काम त थियो, तर पुग्दा म के हो भन्ने याद हुँदैन, काम गर्‍यौँ तर म पत्रकार हो भन्ने याद भएन, मात्र चुचुरोमा पुग्ने ध्याउन्न भयो। त्यहाँ काम गर्नु हाम्रो जिम्मेवारी थियो।’ टोलीमा बसेर उनले जिम्मेवारी पूरा पनि गरिन्।

सगरमाथा यात्राको बिउ उनमा रोप्ने उनकी आमा थिइन्, तारा लावती। त्यसलाई प्रोत्साहन उनका बाबाले गरे। उनले त्यो बेलाको कुरा सम्झिइन्। वर्ष सन् १९९३ अप्रिल तिर। अप्रिल २२ तारिखमा विश्वमा नयाँ इतिहास रचियो। तर त्यो खुसीको रचियता त्यसको खुसी बाँड्न नपाउँदै अस्ताइन्। सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ्ग ल्हामु शेर्पा फर्कने क्रममा दुर्घटनामा बितिन्।

यति बेला देउराली सानै थिइन्, गाउँमा बस्थिन्। टेलिभिजन कमैको घरमा थियो, पत्रपत्रिका सबैले पढ्न नजान्ने। सबैले बिहान उठेदेखि नै सुन्ने रेडियो हो राति रेडियो बन्द गर्ने बेला ‘जय नेपाल’ नभनेसम्म। समाचार सुन्नुपर्ने बाध्यता थियो, नबुझे पनि। रेडियोले समाचार फुक्यो, ‘सगरमाथा आरोहण गर्ने पहिलो महिला पासाङ ल्हामु शेर्पाको निधन।’ चाम्लिङको आमालाई केही कुरा चित्त बुझेमा जिब्रो पड्कन्थ्यो ‘ट्वाक्क’। त्यतिबेला आमाले जिब्रो पड्काइन् र थपिन्, ‘मान्छे जन्मँदा कोही पनि अजम्बरीको बुटी लिएर जन्मिएको हुँदैन, तर यो शेर्पिनी अजम्बरी भयो।’

कलिलो बाल मष्तिस्कमा छाप पर्‍यो, सगरमाथा चढ्नु ठूलै काम रहेछ। त्यसै बेला बस्यो, सगरमाथा चढ्ने रहर र अनि आमाको स्याबासीसँगै जिब्रो ट्वाक्क पड्काएको आवाज सुन्ने। उमेर बढ्दै गयो, उनलाई त्यो जोशले छोड्दै छोडेन। ‘सात वर्ष अगाडि मैले सगरमाथा समिटर्ससँग कुरा गरेको थिएँ, त्यति बेला पैसा धेरै लाग्ने भन्ने थाहा पाएँ। ल छोरी तेरो बुतोभन्दा बाहिरको कुरा रहेछ भनेर चुप लागेँ।’

उनको यो यात्रामा बाबाको पनि योगदान छ। उनलाई पत्रकारिता क्षेत्रमा आउन प्रेरित गर्ने बाबा नै हुन्। उनको बाबा हेमन्त चाम्लिङ शिक्षक थिए। घरमा नियम थियो, बाबाले पत्रिका पढेपछि घरका सबैजनाले पत्रिका पढ्नैपर्ने। पत्रिका पढ्दापढ्दै साहित्यमा रुचि भयो। हाँस्दै उनले भनिन्, ‘पत्रिकामा अरुले लेखेको सिर्जनामा आफ्नो नाम राख्ने, आफ्नो फोटो टाँस्ने गर्थेँ। यत्तिकै म कविता लेख्न थालेँ।’ त्यसपछि उनीहरु धरान आए, पुर्खौली घर खोटाङ हलेसी हो, त्यहाँबाट बाजेहरु पाँचथर जानुभएको। त्यसपछि चाम्लिङ परिवार धरानमा बसाइ सर्‍यो।

त्यहाँ साहित्यको माहोल पनि राम्रै थियो। पत्रकार र पत्रकारितालाई चिन्ने मौका चाम्लिङले पाइन्। एसएलसी सकिएपछि उनले स्वतन्त्र पत्रकार भएर काम गर्न थालिन्।

सगरमाथा आरोहण गर्ने महिला टोलीसँग उनी आबद्ध हुनुको आधार पत्रकारिता थियो। यसको लागि चाम्लिङ बाबालाई भुल्न सक्दिनन्। सगरमाथाको मोह जगाउने आमालाई उनले कसरी भुल्न सक्नु। ‘म चुचुरोमा हुँदै सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आमालाई फोनमा भनिदिनुभएछ, आमाले म चुचुरोमा हुँदै थाहा पाउनुभयो, म तल आएर कुरा गरेको आमा त मैले सोचेको भन्दा धेरै खुसी हुनुहुँदोरहेछ।’

‘शेर्पाहरुको अगाडि हिमालमा हामी कोक्रोको बच्चा हो, सिँगान आउँछ, मोटो पञ्जा लगाएको हातले पुछ्न सक्दैन।’

सगरमाथा आरोहणले एकतामा भएको ताकतलाई बुझाएको छ। एक्लै हुँदा मरिसकेको आश पाँच जनाको टोलीले सफल पारेँ। यही एक साझा लक्ष्यले हो, देउराली चामलिङ, कल्पना महर्जन, रोजिता बुद्धाचार्य, प्रियालक्ष्मी कार्की र रोशा बस्नेतलाई एकै ठाउँमा भेला पारेको। यो टोलीको जमात १३ जनाबाट छाँटिदै  ७ अनि अन्त्यमा ५ भयो। पाँच मध्येकी एक प्रिया लक्ष्मी स्वास्थ्य समस्याको कारण शिखर पुग्न सकिनन्। ‘सगरमाथाको शिखर चुम्नु भनेको शारीरिक र मानसिक रुपमा नै आफूलाई तयार पार्नु हो, जसमा एकले साथ दिएन भने लक्ष्य सफल हुन्न। ५ जना नै पुगको भए अहिले भएको भन्दा धेरै खुसी हुन्थौ हामी।’

देउराली किराँत सँस्कृतिमा हुर्किएकी हुन्। किराँत संस्कृतिमा सबैले मान्ने भनेको पितृ र प्रकृति हो। ‘सानोमा खोला पुल तर्दा पानी चढाउने ढोग्ने गरिन्थ्यो, प्रकृतिलाई पूजा गर्ने गरिन्थ्यो। बीचमा यो सबै केही होइन भन्ने खालको भावना आएको थियो। सगरमाथाको पहिलो बेसक्याम्पबाट उक्लदै गर्दा जब हिउँ भएको बाटो हामी हिँड्न थाल्यौँ, तब आफसेआप हिमाललाई पुज्न मन लाग्यो।’

उनले आफ्नो अनुभव सुनाइन्, ‘हिमाल प्रकृति हो, प्रकृतिको विरुद्धमा यदि हामी गयो भने, यसले मानिसलाई नै क्षति पुर्‍याउने हो भन्ने जस्तो लाग्यो र भनेँ म तिमीमाथि आउँदैछु, कहि कतै गल्ति भयो भने मलाई माफ गर, फर्केर आएपछि म क्षमा पूजा गर्छु।’ त्यो बेला उनलाई आफ्नो परिवारमा जोडिएका पितृहरुको सम्झना आयो। सबैलाई पुकारिन्।

जब उनी चुचुरोमा पुगिन्, थ्याच्च बसिन्। बिहान पौने ८ मा पुगेको हुनाले सूर्य उदाउँदै थियो, घाम पनि तल, पहाड पनि तल, सारै राम्रो दृश्य थियो त्यो। ‘जिन्दगीको सुन्दर फुल हुन्।’ यति भन्दा उनको मुहार उज्यालो भयो। सँगै उनले थपिन्, थोरै असन्तुष्ट स्वरमा, ‘मेरो लागि त्यो बेस्ट मोमेन्ट थियो, तर मेरो आँखाले जति देख्यो, जति राम्रा मान्यो, त्यसलाई कुनै कवि, गीतकार, गजलकारले जसरी प्रस्तुत गर्न मैले सकिन।’

‘दार्जिलिङमा गएको बेलामा पनि घाम उदाएको हेरेको थिएँ, तर त्यो भन्दा कयौँ गुणा राम्रो लाग्यो।’ त्यत्त्रो दुख गरेर हिमालको टुप्पोमा पुग्दा लागेको थकान जति सबै गयो।

चाम्लिङले जे काम गर्छिन्, त्यसमा दत्तचित्त। काम गर्दा झ्याउ लाग्यो भने बिचमा छोडिदिने। एक हिसाबले भन्दा आफ्नै मर्जीको मालिक। सगरमाथा चढ्ने योजनामा भने उनलाई झ्याउ लागेन, पूरा गरिन्। उनले काम गर्दा त्यसको नतिजालाई आकलन गरिनन्, मात्र काम गरिन्, अहिले पनि अगाडि जे आउँछ त्यहि नै गर्ने योजना छ उनको।

योभन्दा अगाडि बञ्जी जम्प, प्यारा ग्लाइडिङ्ग पनि गरेकी नै हुन्। त्यो बेलामा थाहा पाउनेले भनेका थिए, ओहो तिमीले बञ्जी गर्‍यौ? उनको जवाफ त्यो बेलामा थियो, पायो भने सगरमाथा चढ्ने हो। संयोगले उनलाई तिनै मानिसको माध्यमबाट सगरमाथा चढ्ने महिला पत्रकारको टोलीमा समावेश हने वातावरण मिलायो। उनले सबैभन्दा पहिला रोशा बस्नेतसँग कुरा गरेकी थिइन्।

‘सगरमाथा मेरो रहर थियो, सबैले ओहो भन्नुहुन्छ। यो सबै इच्छाशक्तिको कुरा हो, एक जनाले सक्ने अरुले नसक्ने हुन्न।’ देउराली यो सफलताको लागि आफूलाई सहयोग गर्ने सहयोगी हातहरुप्रति कृतज्ञ छिन्। उनले हिमाललाई मृत्युको भयसँग तुलना गर्नु उचित मान्दिनन्। ‘एकपल्ट मर्ने नै हो, थाहा छैन नि कहिले मरिन्छ।’

एक आरोहीको सफल आरोहण यात्राको क्रेडिट उनीहरुको शर्पालाई पनि जान्छ। ‘हाम्रो लक्ष्य नै त्यही हो, त्यहाँ पुग्दा हामी जति खुसी हुन्छौँ। त्यो भन्दा धेरै खुसी हाम्रा शेर्पाहरु हुन्छन्।’ आरोहीको सफलता उनको शेर्पाको सफलता हो। ‘शेर्पाहरुको अगाडि हिमालमा हामी कोक्रोको बच्चा हो, सिँगान आउँछ, मोटो पञ्जा लगाएको हातले पुछ्न सक्दैन।’ उनले बताए अनुसार शेर्पा बिना सम्भव छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?