
काठमाडौँ- काठमाडौँको फोहोर व्यवस्थापन र त्यसलाई लिएर भइरहेको ‘राजनीति’ उत्कर्षमा रहँदा मेयर बालेन शाहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन्।
उनले मंगलबार सामाजिक सञ्जालमा हिलाम्य ‘ककनी बाटो’ को भिडियो पोस्ट गरेर प्रचण्डको कटाक्ष गरेका हुन्।
काठमाडौँको फोहोर बञ्चरे डाँडा लैजानका लागि प्रयोग हुने हिलाम्य बाटो पनि फोहोर व्यवस्थापनका लागि अवरोधका रूपमा रहँदै आएको छ। फोहोर व्यवस्थापनका लागि प्रमुख अवरोध स्थानीय बासिन्दा र महानगरबीचको विवाद हो। तर हिलाम्य सडकका कारण पनि समस्या हुँदै आएको छ।
मेयर शाहले सोही हिलाम्य सडकको भिडियो पोस्ट गरेर प्रचण्डमाथि प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर!’
ककनीको बाटो (बालाजु-रानीपौवा) बनाउने ठेक्का प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले पाएको थियो। यो कम्पनीले ठेक्का पाएका प्रायः सडक समयमा बन्न सकेका छैनन्।
ककनीको बाटो बनाउने जिम्मा पनि सोही कम्पनीले पाएको र प्रचण्ड सो कम्पनीका मालिकको घरमा बसेको तर्फ इंगित गर्दै बालेनले कटाक्ष गरेका हुन्।