
अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा मानव पठाउने मिसनको पहिलो उडान सोमबारका लागि रद्द गरेको छ। नासाले मिसनको पहिलो रकेट ‘आर्टेमिस १’ पठाउने तयारी गरिरहेको छ।
रकेट फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट स्थानीय समयअनुसार सोमबार बिहान ८ बजेर ३३ मिनेटमा चन्द्रमाका लागि उडान भर्ने तय भएको थियो। तर, उडान भर्नुभन्दा करिब दुई घण्टाअघि नासाका इन्जिनियरले रकेटमा प्राविधिक गडबडी भेटेपछि उडान रद्द गरिएको नासाले जनाएको छ। आफ्ना इन्जिनियरहरुले गडबडीको डाटा संकलन गरिरहेको नासाले वेबसाइटमा उल्लेख गरेको छ।
एसएलएस नाम दिइएको यो रकेट नासाको अहिलेसम्मको सबैभन्दा शक्तिशाली यान भएको जनाइएको छ।
यो यान मानव बिना नै चन्द्रमाका लागि उडान भर्दैछ। गएको ५० वर्षमा मानिसहरूलाई चन्द्रमाको सतहमा पुर्याइएको छैन। एपोलो ११ पछि कुनै पनि मानवसहितको यान चन्द्रमामा अवतरण गरेको छैन।
रकेट र अन्तरिक्ष यान क्रमशः २०२४ र २०२५ को लागि निर्धारित ‘आर्टेमिस २’ र ‘आर्टेमिस ३’ मा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा लैजानुअघि तिनीहरुको गतिको पहिलो परीक्षण यो यानले गर्ने सीएनएनले जनाएको छ।
यो मिसनलाई त्यसैको आधारको रुपमा लिइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। २०२४ मा मानवसहितको यान चन्द्रमामा पठाउने नासाको ‘आर्टेमिस २’ परियोजनाको जग हुने बीबीसीले उल्लेख गरेको छ। साथै चन्द्रमा मिसनले २०४० को दशकमा मंगल ग्रहमा उडानको लागि आधार तयार गर्ने बीबीसीले उल्लेख गरेको छ।
ओरियनको यात्रा ४२ दिनसम्म चल्नेछ। यसले चन्द्रमामा यात्रा गर्छ, यसको वरिपरि घुम्छ र पृथ्वीमा फर्किने छ। यान कुल १.३ मिलियन माइल (२.१ मिलियन किलोमिटर) यात्रा गर्दै अक्टोबर १० मा प्रशान्त महासागरको सान डिएगोको तटमा खस्नेछ।