
सिमकोट – जिल्लाका सात वटै गाउँपालिकाका २७ वटामध्ये २३ वटा विद्यालयको कार्यसम्पादन परीक्षणमा खार्पुनाथ गाउँपालिकाको सीता माध्यमिक विद्यालय पहिलो भएको छ। यसका लागि निर्धारित सूचक पार गर्दै उक्त मावि जिल्लामै पहिलो भएको हो।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख तिलक घट्टराईका अनुसार सीता माविले कुल ८१ अङ्क ल्याएर पहिलो भएको छ। उक्त मावि नमुना विद्यालयसमेत हो। परीक्षणबाट सिमकोट गाउँपालिकाको रलिङ माविले ७३ अङ्क ल्याएर द्वितीया तथा सिमकोटकै कैलाश माविले ७० अंक ल्याएर तृतीय भएका छन्।
सो परीक्षण गरिएका अन्य विद्यालयले भने ४५ देखि ६९ अंक ल्याएका थिए। गाउँपालिकाअनुुसार केन्द्रका प्रतिनिधिले नाम्खा गाउँपालिकाको एउटा, सिमकोटमा सात वटा, खार्पुनाथका चार वटा, सर्केगार्डमा चार, चंखेलीका दुई, अदानचुलीका दुुई वटा र ताँजाकोटका तीन वटा विद्यालयको परीक्षण गरेको थियो।
केन्द्रले परीक्षण गरेको तीन वर्षपछि नतिजा सार्वजनिक गरेको हो। टोलीले चार विद्यालयको भने परीक्षण गरेको थिएन। उनले ०७६/७७ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले स्थलगत रुपमा विद्यालयमा दुई जना प्रतिनिधि पठाएर सो परीक्षण गरेको बताए।
केन्द्रले माविको कार्यसम्पादन परीक्षण गर्न सूचकसमेत तयार गरेको थियो। त्यसमा लगानीतर्फ २७ वटा सूचक, प्रक्रियातर्फ ४६ सूचक र उपलब्धितर्फ १५ सूचक गरी जम्मा ८१ सूचकका आधारमा विद्यालयको कार्यसम्पादन परीक्षण गरिएको थियो।
प्रक्रिया, लगानी, उपलब्धि र विद्यार्थी संख्याका आधारमा विद्यालयको स्तर तोक्ने व्यवस्था गरिएको थियो।