
झापा – झापाका पाँचवटा क्षेत्रबाट विभिन्न राजनीतिक दलका शीर्ष नेताले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गणेश पाण्डव अधिकारीले मनोनयन दर्ता गराएका छन्।
सोही क्षेत्रबाट युग पाठकले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट मनोनयन दर्ता गराएका छन्। एमालेका अग्निप्रसाद खरेलले पनि झापा १ बाटै निर्वाचन लड्नका लागि मनोनयन पत्र दर्ता गराएका छन्।
झापाको क्षेत्र नं ३ बाट एमालेको समर्थनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनयन दर्ता गराएका छन्। त्यस्तै सोही क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिए।
झापाको क्षेत्र नं २ बाट एमालेका स्थायी कमिटी सदस्य देवराज घिमिरेले मनोनयन दर्ता गराए। सत्ता गठबन्धनका तर्फबाट आइतबार नै एमाले त्यागेका हरिकुमार रानाले मनोनयन दर्ता गराए।
उनले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने निर्णय गर्दै मनोनयन दर्ता गराएका हुन्। सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा कानुन व्यवसायी स्वागत नेपालले पनि उम्मेदवारी दर्ता गराएका छन्।
झापाको क्षेत्र नं ४ बाट एमालेका तर्फबाट एलपी साँवाले मनोनयन दर्ता गराए। सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका देउकुमार थेबेले मनोनयन दर्ता गराएका हुन्।