
वीरगञ्ज- सतारूढ पाँच दलीय गठबन्धनलाई काउन्टर दिन बनेको नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)को गठबन्धन बाराको क्षेत्र नम्बर ३ मा भने टुटेको छ।
यो क्षेत्रमा एमाले र जसपा दुवैले आ-आफ्ना उमेदवारहरू चुनावी मैदानमा उतारेका छन्। यहाँ सतारूढ पाँच दलीय गठबन्धनको तर्फबाट भने लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो उम्मेदवार उतारेको छ।
एमाले-जसपा गठबन्धन भंग भएको यस क्षेत्रमा एमालेले आफ्नो पोलिटब्यूरो सदस्य एवम् पूर्वराज्यमन्त्री भइसकेकी ज्वाला साहलाई उम्मेदवार बनाएको छ भने जसपाले पूर्वसांसद रामबाबु यादवलाई उम्मेदवार बनाएको छ।
यी दुवैजनाको विरुद्धमा सतारूढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)का लालबाबु सिंहलाई टिकट दिइएको छ। तीनैजना यस क्षेत्रमा बलिया उम्मेदवार भएका कारण त्रिपक्षीय भिडन्त राेचक हुने पक्का छ।
जसपाबाट उम्मेदवार रहेका यादव पार्टीका मधेस प्रदेश अध्यक्षसँगै यसै क्षेत्रबाट २०७४ सालको निर्वाचनमा सांसदमा निर्वाचित भएका थिए। उनी जसपा बाराका पूर्व अध्यक्षसमेत हुन्।
यसैगरी, एमालेबाट उम्मेदवारी दिएकी ज्वाला साह भने पूर्व माओवादी नेतृ हुन्। उनी नेकपा विभाजन हुँदा एमालेमै बसेकी थिइन्।
२०७४ सालको निर्वाचनमा साह यसै क्षेत्रको ‘क’ बाट नेकपा माओवादी केन्द्रबाट प्रदेश सदस्यमा निर्वाचित भएकी थिइन्। ०६४ सालको पहिलाे संविधानसभा सदस्यमा माओवादी केन्द्रबाटै निर्वाचित भएकी साह बाबुराम भटराई प्रधानमन्त्री भएको बेलामा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीसमेत भएकी थिइन्।
यस्तै, यस क्षेत्रबाट लोसपाका उम्मेदवार सिंह भने नवप्रवेशी हुन्। उनी चुनावको मुखमा लोसपा प्रवेश गरेर टिकट पाउन सफल भएका हुन्।
नेपाली कांग्रेस बाराका पूर्वसभापति समेत रहेका सिंह कांग्रेसको भागमा यो क्षेत्र नपरेपछि लोसपामा गएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
एमाले र जसपाबीचको गठबन्धन भंग हुनु र माओवादी केन्द्र, कांग्रेस, जनमोर्चासँगै लोसपाको मत पनि सिंहलाई नै गए उनी एमाले र जसपाका उम्मेदवारभन्दा बलिया देखिन्छन्।
तीनैजना उम्मेदवारहरू अहिले जनताको घरदैलोमा पुगेर आ-आफना एजेण्डाहरूसहित मत माग्नमा व्यस्त भएका छन्।